अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु

जनकपुर- जनकपुरधाममा आजबाट ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फेस्टिभलको उद्घाटन गर्नुभयो ।
मुख्यमन्त्री सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा ‘फिल्म फेस्टिभल’ले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मैथिली भाषामा राम्रा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताउनुभयो ।
वरिष्ठ कलाकार नीर शाहले मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।
  ‘फेस्टिभल’को औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता लोक सञ्चारका अध्यक्ष रमेश रञ्जन झाले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख किशोरी साह, गायक सुनिल मल्लिक, अभियानी विभा झालगायतका वक्ताहरुले मैथिली भाषाको अन्तर्राष्ट्रिय ‘फिल्म फेस्टिभल’ले भाषा, संस्कृति तथा कलाको संरक्षणमा मद्दत पुग्ने बताउनुभयो ।
‘फेस्टिभल’मा मिथिलाञ्चल क्षेत्रका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशक सहभागी छन् ।
दुई दिनसम्म चल्ने ‘फिल्म फेस्टिभल’ सङ्घीयता कार्यान्वयन भएपछि पहिलो पटक आयोजना गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चारको संयुक्त आयोजनामा जनकपुरधामको गिरिजा चलचित्र  मन्दिरमा सुरु भएको ‘फेस्टिभल’मा ललका पाग, लोटस ब्लुम्स, समानान्तर गरेर तीन वटा फिचर फिल्मको प्रदर्शन हुने कार्यक्रम छ ।
यसैगरी वृत्तचित्र गुमकी र विद्यापत तथा लघु फिल्म रक्त तिलक, अफवाह प्रदर्शन हुने आयोजक लोकसञ्चार संस्थाका अध्यक्ष रमेश रञ्जन झाले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय मैथिली ‘फिल्म फेस्टिभल’को क्रममा मैथिली सिनेमाको निर्माण र व्यवसाय तथा समकालीन परिदृश्यमा मैथिली सिनेमालगायतका विषयमा विमर्श गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.