जोखिम मोलेरै दाउराको जोहो (फोटो फिचर)

धादिङ- बिस्तारै मनसुन सक्रिय हुँदै गएको छ, त्रिशूली नदीमा पानीको वहाव पनि बढ्दै गएको छ । नदिमा पानीको सतह बढेसँगै नदीले बगाएर ल्याएको काठ दाउरा निकाल्ने मानिसहरुको जमात पनि नदि किनारामा बाक्लै भेटिन्छ ।

नदिमा बाढी आएसँगै गजुरी, मलेखु र बेनीघाट आसपासका निम्न आय भएका हरेक मानिसहरुको दैनिकी यसैगरी त्रिशूली नदी किनारामा दाउरा निकाल्दै बित्ने गर्दछ । यसबाट आम्दानी भने निकै राम्रो हुने गरेको तर ज्यानको जोखिम भने उतिकै रहेको उनिहरुको भनाई छ ।

काठ र दाउरा संकलन गर्दा जोखिम भएपनि बिहान बेलुकीको छाक टार्नकै लागी जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाई छ । आम्दानी निकै राम्रो छ, यसरी निकालिएको दाउराको बिक्रीबाट घर खर्च समेत पुग्ने र बिक्री नभए आफैले घरमा चुलो बाल्न हुने भएकोले पनि उनिहरुले यस्तो काम गरेका हुन् ।

जेठ महिनादेखि तीन महिनासम्म चल्ने यो पेशाबाट त्रिशूली नदी आसपासमा बसोवास गर्ने मानिसहरुले दाउरा र काठ बिक्रीबाट मासिक पचासदेखि सत्तरी हजारसम्म आम्दानी गर्ने गर्दछन् ।

जोखिम नै भएपनि विना लगानी शारीरिक मेहनेतको भरमा यतिको धेरै आम्दानी हुने भएपछि यस पेशातर्फ युवाहरु र काम गर्न सक्ने सबैजसो मानिसहरु तीन महिनासम्म जुट्ने गरेका हुन् ।

पछिल्लो समय जङ्गलमा दाउरा काट्नका लागी सामुदायिक जङ्गलले रोक लगाएसँगै आजकल त्रिशूली नदीमा दाउरा निकाल्नेहरुको भिड समेत गत वर्षहरुमा भन्दा निकै बढेको उनिहरु बताउँछन् । विषेश गरी यस्तो पेशा राजमार्ग छेउछाउमा बस्ने मानिसहरुले गर्ने गर्दछन् ।

नदीमा ठूलो बाढी आएको समयमा त एक दिनमा एक जनाले करिब तीस चालीस भारी दाउरा संकलन गर्ने गर्दछन् । अहिले प्रतिभारी दाउरा धादिङमा तीन सयदेखी पाँच सयसम्ममा बिक्री हुने गर्दछ । यस वर्ष मध्य असारसम्म पनि त्यति बाढी नआएकोले अपेक्षा गरेअनुसार आम्दानी नहुने पनि उनिहरुको भनाई छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.