अविरल बर्षाका कारण विराटनगर महानगरपालिकाको अधिकांश भाग डुवानमा

मोरङ- गएराति देखि परेको अविरल वर्षाका कारण विराटनगर महानगरपालिका क्षेत्रको अधिकांश वडा डुबानमा परेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ९ र १० बाहेकका सबै वडाका घरहरुमा पानी छिरेको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीले जनाएको छ ।

अत्यधिक वर्षा भएको र अर्कोतिर पानीको निकास नहुँदा सडक र घरहरु डुबानमा परेका हुन् । वडा नं. १२ र १९ मा भने करिब एक सय परिवार विस्थापित भएका छन् ।

उनीहरुलाई स्थानीय विद्यालयमा पुनर्स्थापना गरिएको विराटनगर महानगरपालिकाको द्रुत प्रतिकार्य टोलीका संयोजक अर्जुन थपलियाले जानकारी दिनुभयो । उहाँले अहिले विभिन्न ठाँउमा पानी निकास खुलाउने कार्य भईरहेको बताउनु भयो ।

मंगलबार बिहान ८ बजेर ४५ मिनेटदेखि बुधवार बिहान ८ बजेर ४५ मिनेटसम्म विराटनगरमा ३ सय ६१ मिलिमिटर पानी परेको विराटनगर एयरपोर्ट स्थित जलवायु तथा मौसम विज्ञान फिल्ड कार्यालयले जनाएको छ ।

सो कार्यालयका मौसम सहायक राजेश झाका अनुसार विराटनगरमा यो सिजनको सबैभन्दा बढी पानी परेको हो ।

यसैवीच पार्किङ क्षेत्रमा बास्ता खोलाको बाढी पसेपछि विराटनगर विमानस्थलको उडान र अवतरण रोकिएको छ । विराटनगर महानगरपालिका– ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.