समयमै मल उपलब्ध गराउन र सडक निर्माण गर्न सांसदहरुको आग्रह

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरूले किसानलाई समयमै मल उपलब्ध गराउन तथा विभिन्न सडक निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
बैठकको शून्य समयमा बोल्दै सांसद विद्या भट्टराईले अछामको छाउगोठमा किशोरी बलात्कृत भएकी, ललितपुरमा धारामा पानी लिन जाँदा महिलामाथिको हिंसा र पोखराका स्पाहरूमा नाबालिकाको प्रयोगजस्ता घटनाका विषयमा अनुसन्धान गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सरकारसँग माग गर्नुभयो ।
सांसद बिना लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिवमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको विषय उठाउँदै मुख्यसचिव नियुक्ति प्रक्रिया नै शङ्काको घेरामा रहेको बताउनुभयो ।
      सांसद विनिताकुमारी सिंहले मनसुन सुरु भएसँगै तराईका जिल्लामा सर्पदंशका घटना बढेका उल्लेख गर्दै विभिन्न स्थानका प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचारको व्यवस्था गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद बिना जैसवालले सञ्चारमाध्यमले विभिन्न समस्या उठाइरहेका भए पनि सरकारी निकायले ती विषयमा अनुसन्धानका काममा गति दिन नसकेको बताउनुभयो । सरकारको सेवा प्रवाह नागरिकमैत्री हुन नसकेको र विद्यमान ऐन, कानुनको उचित पालना हुन नसकेको विषय उहाँले संसदमा उठाउनुभयो ।
सांसद श्यामकुमार घिमिरेले वीर अस्पतालमा जनशक्ति अभावका कारण अति सघन कक्षका शैयया सञ्चालनमा आउन नसकेका विषयमा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले देशभरका सरकारी अस्पतालमा जनशक्ति अभाव रहेको बताउनुभयो ।
सांसद शान्ति विकले मुलुकको सार्वजनिक ऋण रु २४ खर्बभन्दा बढी पुगेको उल्लेख गर्दै ‘बेल्ट एण्ड रोड इनिसिएटीभ’ (बिआरआई)बाट ऋणभन्दा पनि अनुदान लिनुपर्ने धारणा राख्नुभयो ।
सांसद शान्ति श्रेष्ठले बागमती करिडोरअन्तर्गत विभिन्न स्थानमा सडक निर्माणको काम रोकिएकामा त्यसलाई समयमै सम्पन्न गर्न माग गर्नुभयो । काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन र सौन्दर्यकरणका काम प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ ।
सांसद शिव नेपालीले यातायात व्यवसायीले भोग्नुपरेका समस्या संसद्मा उठाउनुभयो ।
सांसद शेरबहादुर कुँवरले वर्षायाममा बाढी, पहिरोका कारण बिजुलीका खम्बा ढल्ने र करेन्ट लागेर मृत्यु हुने घटना बढिरहेकमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा यसले समस्या निम्त्याएकाले परिचयपत्र बनाउन गाउँगाउँमा टोली खटाउन उहाँले सरकारसँग माग गर्नुभयो ।
सांसद शोभा ज्ञवालीले देशभर बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिन तथा घरबास गुमाएकालाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद सन्तोष चालिसेले देशभरि बाढी, पहिरोको जोखिम बढेकाले दैवी प्रकोप नियन्त्रण, राहत तथा उद्धारका काम प्रभावकारी बनाउन माग गर्नुभयो । वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्न जग्गा अधिग्रहण गरिएको भए पनि त्यसको थप काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।
सांसद सम्झना थपलियाले सिरहा र धनुषाका किसानले सुनकोशी मरिन डाइभर्सनबाट सिँचाइ सुविधा पाउन नसकेको विषय संसद्मा उठाउनुभयो ।
सांसद सरस्वती बजिमयले वर्षायाम सुरु भएसँसै सडक अवरुद्ध भएको, धनजनको क्षति भएको तथा जोखिममा रहेका बस्ती स्थानान्तरण हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सरिता भुसालले हुलाकी राजमार्ग निर्माणको काम अधुरै रहेकामा संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद डा स्वर्णिम वाग्लेले तनहुँमा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न आयोजनामा जग्गाको विवाद र समस्या रहेको विषय उठाउँदै स्थानीयको माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद सीता मिजारले तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तिवको भावनाअनुसार काम हुन नसकेको र संविधानले परिकल्पना गरेअनुसार सङ्घीयता कार्यान्वयनमा अझै समस्या रहेको बताउनुभयो ।
सांसद सुशीला सिर्पाली ठकुरीले रजस्वला भएका महिलामाथिको विभेद अझै हट्न नसकेको विषय संसद्मा उठाउनुभयो । यस्ता कुरीति हटाउन र सामाजिक रुपान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।
सांसद सूर्यकुमारी श्रेष्ठले कोदोखेती बढाएर यसको उत्पादनलाई ब्राण्डिङ गर्न सरकारलाई सुझाव दिनुभयो ।
सांसद सूर्यप्रसाद ढकालले काठमाडौँ उपत्यकाका तीन जिल्लाको सवारी जाम व्यवस्थापन गर्न गृह मन्त्रालयको कस्तो योजना छ भन्दै सरकारसँग प्रश्न गर्नुभयो ।
सांसद सूर्यबहादुर थापा क्षेत्रीले प्युठानका स्वर्गद्वारीलगायतका पर्यटकीय क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गर्न सरकार गम्भीर नदेखिएको बताउनुभयो ।
सांसद सूर्यमान तामाङ (दोङ)ले वर्षेबाली लगाउने बेलामा किसानले मल नपाएको उल्लेख गर्दै समयमै मल आपूर्ति गर्न माग गर्नुभयो ।
सांसद सञ्जयकुमार गौतमले बर्दियामा बाढी र डुबानको समस्या व्यवस्थापन गर्न पर्याप्त बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।
सांसद हर्कमाया विश्वकर्माले संसद्मा सांसदहरूले उठाएका विषयबारे सरकार र मातहतका निकाय गम्भीर हुन नसकेको बताउनुभयो ।
सांसद हितराज पाण्डेले गोरखाको अजिरकोट गाउँपालिकामा पर्यटकीय पूर्वाधार निर्माण र सहरी पूर्वाधार निर्माण गरिनुपर्ने बताउनुभयो ।
सांसद हृदयराम थानीले विभिन्न स्थानीय तहका स्वास्थ्य कर्मचारीले तलब पाउन नसकेको विषय संसद्मा उठाउनुभयो ।
सांसद ज्ञानु बस्नेत सुवेदीले एसइई परीक्षामा ५२ दशमलव १४ प्रतिशत विद्यार्थी मात्र कक्षा ११ मा पढ्न पाउनेगरी उत्तीर्ण भएकामा नतिजामा समस्या देखिएकाले त्यसलाई सच्याउन माग गर्नुभयो ।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले कोशीटप्पु बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाइनुपर्ने माग गर्नुभयो ।
सांसद विनोदकुमार चौधरीले चितवनको वाल्मिकी आश्रम क्षेत्रमा सडक, विद्युत्लगायतका अत्यावश्यक पूर्वाधार बन्न नसकेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.