आधाभन्दा धेरै सुडानीहरू ‘गम्भीर खाद्य असुरक्षा’ को सामना गर्दै

करिब दुई करोड ५६ लाख अर्थात सुडानको आधाभन्दा धेरै जनसङ्ख्याले उच्चस्तरको ‘गम्भीर खाद्य असुरक्षा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घले बिहीबार उद्धृत गरेको एक प्रतिवेदनमा बताइएको छ ।
एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपिसी) का अनुसार उक्त सङ्ख्यामा सात लाख ५५ हजारले भोकमरीको सामना गरिरहेका छन् भने ८५ लाख मानिसले ‘आपत्कालीन’ स्थितिको सामना गरिरहेका छन् ।
अब्देल फताह अल–बुरहानको नेतृत्वमा रहेको नियमित सेना र उहाँका पूर्व डेपुटी मोहम्मद हमदान डागलोको नेतृत्वमा रहेको शक्तिशाली अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच लडाइँ सुरु भएपछि सुडान सन् २०२३ देखि युद्धको चपेटामा परेको छ ।
युद्धले हजारौँको ज्यान लिएको छ, लाखौँ मानिस विस्थापित भएका छन् र संसारको सबैभन्दा खराब मानवीय सङ्कटमध्ये एकलाई जन्म दिएको छ ।
“द्वन्द्वको १४ महिनापछि सुडानले देशमा आइपिसीले रेकर्ड गरेको अहिलेसम्मको सबैभन्दा खराब स्तरको खाद्य असुरक्षाको सामना गरिरहेको छ”, प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनले डिसेम्बरमा प्रकाशित पछिल्लो आँकडाको तुलनामा ‘खाद्य सुरक्षाको स्थितिमा गम्भीर र तीव्र गिरावट’ तर्फ सङ्केत गरेको छ । यसमा उच्चस्तरको तीव्र खाद्य असुरक्षाको सामना गर्ने मानिसहरूमा ४५ प्रतिशतले वृद्धि भएको छ ।
“द्वन्द्वले ठूलो मात्रामा विस्थापन र आपूर्ति मार्गमा व्यवधान मात्र उत्पन्न गरेको छैन, यसले आवश्यक मानवीय सहायतासम्मको पहुँचलाई पनि गम्भीररूपमा सीमित गरेको छ, जसले स्थिति पहिलाभन्दा गम्भीर भएको छ”, अत्यधिक खराब स्वास्थ्य सेवाहरू, जल प्रदूषण र खराब सरसफाइ तथा स्वच्छताको अवस्थालाई उद्धृत गर्दै आइपिसीले भनेको छ ।
द्वन्द्वग्रस्त क्षेत्रहरूमा फँसेका मानिसहरू र लडाइँबाट आन्तरिक वा विदेशमा भागेकाहरू विशेषरूपमा खाद्य असुरक्षाप्रति संवेदनशील भएको प्रतिवेदनले उल्लेख गरेको छ ।
राष्ट्रसङ्घीय विशेषज्ञहरूले द्वन्द्वका दुवै पक्षले भोकमरीलाई युद्धको हतियारका रूपमा प्रयोग गरिरहेको आरोप लगाएको एक दिनपछि आइपिसीको प्रतिवेदन आएको छ ।
राष्ट्रसङ्घका चार स्वतन्त्र अधिकार विशेषज्ञहरूले बुधबार सेना र आरएसएफ दुवैलाई सैन्य सहायता प्रदान गर्ने विदेशी सरकारहरू युद्ध अपराधमा ‘सहभागी’ रहेको बताएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.