सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन नेताहरु सकारात्मक

काठमाडौँ- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन शीर्ष तीन दल सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउनुपर्छ भन्ने विषयमा शीर्ष दलका नेताहरु एकमत रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विधेयकका जुन–जुन बुँदामा विगतमा सहमति जुट्न सकेको छैन ती विषयमा सहमतिमा पुर्‍याएर टुङ्ग्याउने भन्नेमा उहाँहरु एकजुट हुनुहुन्थ्यो ।”

शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा केन्द्रित बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई कसरी अगाडि बढाउने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी चाँडो टुङ्ग्याउने भन्ने विषयमा छलफल केन्द्रित रहेको मन्त्री गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायको विषयमा धेरै बुँदामा सहमति भइसकेको छ । तीन÷चारवटा बुँदामा सहमति जुट्न बाँकी छ । मलाई लाग्छ यति कुरामा सहमति भइसकेपछि हामीले यो विषयमा ‘बे्रक थ्रु’ गर्छौं ।”

उहाँले खासगरी मेलमिलापका सन्दर्भमा पीडित पक्षको स्वतन्त्र सहमति, गम्भीर मानवअधिकार उल्लङ्घन र मानवअधिकार उलङ्घनको विषय, बालसेनामा भर्ती भनिएकाका विषयमा छलफल गरेर समान दृष्टिकोण बनाउनुपर्ने स्थिति रहेको बताउनुभयो । द्वन्द्वका बेला पीडित भएकालाई कसरी क्षतिपूर्ति दिनेलगायत विषयमा छलफल हुन बाँकी रहेको उहाँको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.