जनताको बहुदलीय जनवाद एमालेको मार्गदर्शक सिद्धान्त

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ७३औँ जन्मजयन्ती नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले गर्नुभएको योगदानको स्मरण गर्ने दिनका रुपमा मनाइयो ।

नविन सोंच सिद्धान्तका प्रतिपादक स्वर्गीय नेता भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलीय जनवाद अहिले पनि एमाले लगायत केही कम्युनिष्ट पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।

विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीको माइला छोराका रूपमा जन्मनु भएका मदनकुमार भण्डारीको ४१ बर्षको उमेरमा विसं. २०५० जेठ ३ गते दासढुङ्गामा दुर्घटना निधन भएको थियो । पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गामा दुर्घटना हुँदा उहाँसहित पार्टीका तत्कालिन सङ्गठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।

मदन भण्डारीले २०४९ माघ १४ गते शुरु भइ २० गते सम्पन्न भएको नेकपा एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेर पारित गरिएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । जननेता भण्डारी नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा सिद्धान्तका प्रवर्तक मानिनुहुन्छ ।

उहाँलाई एक असाधारण व्यक्तिकारुपमा कम्युनिष्ट नेताहरुले स्मरण गर्ने गरेको पाइन्छ । नेकपा एमालेका उपध्यक्ष बिष्णु पौडेल स्वर्गीय नेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलन,लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय स्वाधिनताका पक्षमा उभिएका उच्च नेता भएको र परम्परावादी मान्यताहरु चिरेर कम्युनिष्ट पार्टी जनतामा विश्वास गर्छन् र जनताबाट निर्वाचित भएर साशन सञ्चालन गर्छन् भन्ने मान्यता स्थापित गर्न सफल भएको वताउनु हुन्छ ।

जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण योग्य रहेको चर्चा हुने गरेको छ । ३१ वर्षअघि रहस्यमय मृत्युवरण गर्नुभएका भण्डारीको समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको कम्युनिष्ट वृतमा स्मरण गर्ने गरिएको पाइन्छ ।

स्व मदन भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनमार्फत समाज र देशलाई अगाडि बढाउन योगदान दिनुभएको छ । वैचारिकरुपमा सुस्पष्ट र देशको समृद्धिको बाटो देखाउने अगुवाका रुपमा हेरिन्छ । पदको लोभ नगर्ने विचारले र कामले आफ्नो परिचय बनाउन सकिन्छ भन्ने अटल क्षमता भएका नेताका रुपमा भण्डारीलाई लिने गरिएको पाइन्छ ।

बहुआयामिक प्रतिभा भएका राजनीतिज्ञ चिन्तक, साहित्यकार, कवि र लेखकका रुपमा समेत भण्डारीको स्मरण हुने गरेको छ । छोटो राजनीतिक जिवनमै नविन सोच र सिद्धान्त समेत प्रतिपादन गर्नुभएका स्व मदन भण्डारी सफल र लोकप्रिय नेताकारुपमा स्मरणीय हुनुहरन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.