धानसँग जोडिएको अर्थशास्त्र, समाजशास्त्र र संस्कृति
काठमाडौ- यतिबेला उच्च पहाडी क्षेत्रमा धान रोपाइँ करिब करिब सकिएको छ । मध्यपहाडी क्षेत्रमा धान रोपाइँको चटारो छ । तराई क्षेत्रमा धानको बिउ तयार हुँदैछ । नेपालको मुख्य अन्नबाली धान हो । नेपालको अर्थतन्त्रमा धानको योगदान करिव ८ देखि १० प्रतिशत रहेको अनुमान छ ।
आर्थिक रूपले मात्रै होइन धार्मिक तथा सांस्कृतिक रूपले पनि नेपालमा धानको महत्व उच्च छ । धानको उत्पादन तथा प्रयोगसँग जोडिएका नेपालका चाड पर्व तथा संस्कृति धेरै छन् । नेपालका प्राय: सबै समुदाय तथा जातिको संस्कृति धानसँग जोडिएको छ ।
नेपालले आफूलाई कृषि प्रधान देशका रुपमा चिनाएको छ । नेपालले आफूलाई किन कृषि प्रधान देशका रुपमा चिनायो ? भन्ने प्रश्नलाई अर्थशास्त्रीय दृष्टिकोण गरिएका व्याख्या, विश्लेषण र विवेचनाहरू धेरै आउने गरेका छन् । किनकी कुनै बेला नेपालका ९९ प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर थिए ।
कुल आम्दानीको ९९ प्रतिशत अंश कृषिले ओगट्थ्यो । अहिले पनि करिव ६० प्रतिशत जनता कृषि पेशामा छन् । मुलुकको कुल राष्ट्रिय आयको करिव २६ प्रतिशत अंश कृषि क्षेत्रले ओगटेको छ । कृषि क्षेत्रमा पनि करिव एक तिहाइ योगदान त धानकै छ । त्यसैले धानखेतीका बारेमा विश्लेषण गर्नासाथ सबै भन्दा पहिले आकर्षित हुने भनेको आर्थिक पाटो नै हो । तर धार्मिक तथा सांस्कृतिक पाटो पनि कम महत्वपूर्ण छैन । धान खेतीको समाज शास्त्रीय पाटो पनि कम महत्वपूर्ण छैन ।
धानको बिउ राख्ने बेलादेखि धान थन्क्याउने बेलासम्मका चाड पर्वहरूलाई नियाल्ने हो भने धानखेतीको धार्मिक , सांस्कृतिक तथा समाजिक महत्व छर्लङ्ग हुन्छ । नेपाली हिन्दु समाजमा धानको बिउ राख्ने बेला देखि धान भित्र्याउनेसम्म का चार महिनालाई चतुर्मास भन्ने गरिन्छ । यो चार महिनाभित्रका हरेक एकादशीको दिन भगवान विष्णुको विशेष पूजाआजा हुन्छ ।
चर्तुमाशको अन्तिम एकादशीको भोलिपल्ट यज्ञ गरी नयाँ धान तथा चामल अर्पण गरिन्छ र प्रसादका रुपमा ग्रहण गर्ने चलन छ । जसलाई चलन चल्तीको भाषामा न्वागी खाने भनिन्छ चलन । हिन्दु समाजले ब्रह्मालाई सृष्टिकर्ता र विष्णुलाई पालनकर्ता भगवानका रुपमा पुजा भक्ति गर्ने गरेको पाइन्छ । अन्य खेतीको अवधीमा पालनकर्ता विष्णुको पूजा खासै हुँदैन तर धानखेतको अवधीमा भने विशेष पुजा गर्ने चलन छ ।
यसैगरी धानको बिउ राख्दा पूजा आजा मात्रै होइन उत्सव नै मनाउने चलन छ । धान रोपाइँको दिन त बाजागाजा सहित झन ठूलो उत्सव मनाउने संस्कृति छ । जसलाई बेठी लगाउने भनिन्छ । १५ असारको दिनलाई सबैले विशेष चाड पर्वकै रुपमा मनाउँछन् । केही दशकदेखि असार १५ लाई राज्यस्तरबाट पनि धान दिवसको रुपमा मनाउने गरिएको छ । धान रोपाइँका बेला गाइने लोकभाका पनि विशेष प्रकारका छन् ।
नेपाल लोकसंस्कृतिको दृष्टिले धनी मुलुक हो । हिमालदेखि तराईसम्मको करिव १ सय ५० किलोमिटर दुरीको क्षेत्रभित्र विभिन्न जाति तथा समुदायका सयौँ लोक गीत तथा लोकभाकाहरु छन् । एकथरि लोकगीत जुनसुकै समय परिवेशमा बाहै्र महिना गाइन्छन् । अर्काथरि गीत विशेष समय (ऋतु) मा वा विशेष कामका निम्ति वा विशेष पात्रद्वारा विशेष परिवेशमा गाइन्छन् । त्यसमध्येको सबै भन्दा प्रचलित र विशिष्ठता बोकेको असारे गीत हो ।
तराई देखि उच्च पहाडी क्षेत्रसम्म र टिस्टादेखि काँगडासम्म धान रोपाइँका बेला असारे गीत घन्कन्छन् । खासगरी पहाडी समुदायमा असारे लोक साहित्य धेरै विकसित भएको देखिन्छ । तर लय, छन्द र भाका भने ठाउँ अनुसार फरक फरक पाइन्छ ।
यसैगरी, पूर्वी नेपालको लोकनृत्य ‘यालाङ’को पनि ऐतिहासिक संस्कृति छ । यो संस्कृति किराँतकाल देखि नै सुरु भएको मानिन्छ । यालाङलाई नेपाली भाषामा धान नाच भन्ने गरिन्छ । ‘या’ भनेको धान र ‘लाङ’ भनेको नाच्नु हो । लिम्बू संस्कृति पनि किराँतकाल देखि नै धान खेती सँगै सम्बन्धित भएको देखिन्छ । त्यतिबेला मानिसहरू खलामा भेला भई धानको पराल माडी अन्न झार्ने प्रयोजनको लागि धान नाच्थे । यही रूप परिमार्जित हुँदै धाननाच पर्व बनेको हो ।
काठमाडौं उपत्यकाका किसान समुदायको पनि सबै भन्दा ठूलो चाड धान्य पूर्णिमा हो । यस दिन धानको विशेष परिकार योमरी बनाएर पूजा गर्ने, प्रसाद ग्रहण तथा वितरण गर्ने प्रचलन ज्यापु समुदायमा पाइन्छ । त्यसैले धान्य पूर्णिमालाई नेपाल भाषामा योमरी पूर्णिमा भन्ने गरिन्छ । किरातकालदेखि नै मानिदै आएको योमरी पूर्णिमालाई ज्यापु दिवस भन्ने गरिन्छ । केही वर्ष देखि सरकारी स्तरमा पनि ज्यापु दिवस मनाउने गरिएको छ ।
यता कर्णाली क्षेत्रमा धानको समाजशास्त्र वशिष्ठ प्रकारको छ । सामान्यतया समुद्रको सतहबाट १५ सय मिटर भन्दा बढी उचाइको ठाउँमा धानखेती हुँदैन । तर कर्णाली क्षेत्रमा २२ सय मिटर उचाइसम्ममा धानखेती गरिन्छ । बाबा चन्दननाथको कृपाले कर्णाली क्षेत्रमा धानको खेती हुने गरेको स्थानीय जनविश्वास छ । कर्णालीका किसानहरूले अत्यन्त मेहनतका साथ धानखेती गर्छन् । तराई क्षेत्रमा त धान भनेको सबै थोक हो ।
नेपाली समुदायमा चामलको धार्मिक तथा आर्थिक महत्व धेरै ठूलोे सबैजसो शुभ कार्यमा मुख्य परिकार चामलकै बनाइन्छ । शुभकार्य गर्दा नटुक्रिएको चामलबाट अक्षता बनाइन्छ । त्यसलाई निधार, घरको मूलढोका, मठमन्दिर, देवीदेवताका मूर्तिलगायत मा टाँसिन्छ । निधारमा चामलको टीका लाउँदा शान्ति, समृद्धि र सुख प्राप्ति गर्न सकिने जनविश्वास छ । मानिस जन्मदेखि मृत्युसम्मका सबै कर्महरूमा अरु अन्न प्रयोग नभएर धान नै प्रयोग हुन्छ । मृत्यु पितृको श्राद्ध कर्म गर्दा पनि चामलको परिकार नभै हुँदैन । नेपाली समाजका सबैखाले धर्म संस्कृति चामलमै केन्द्रित छन् ।
तर समाजशास्त्र तथा संस्कृति भन्दा अर्थशास्त्र बलियो हुँदो रहेछ भन्ने कुरा पछिल्ला दशकमा प्रमाणित हुँदै गएको छ । किनकी धानखेती गर्ने परम्परागत पद्धति सङ्कटमा पर्दै जान थालेको छ । यो संकट सँगै धानखेतीले विकास गरेको धर्म, संस्कृति तथा समाज पनि लोप हुँदै गएको छ । परम्परागत पद्धति अनुसार धानखेती गर्दा ठूलो जनशक्ति संलग्न हुन्थ्यो । कम्तिमा पनि एक हल गोरु, एउटा हली, दुई जना बाउसे र दुई जना रोपाहार गरी ५ जना चाहिन्थ्यो ।
पाँच हल गोरु नारेर जोत्दा खेतमा ३० –३५ जना हुन्थे । अनि घन्कन्थ्यो, असारे गीत । त्यहीबाट सिर्जना हुन्थे नयाँ नयाँ लोकभाकाहरु । तर अहिले गोरुको ठाउँ ट्याक्टरले लियो । ट्याक्टर नचल्ने पहाडका साना गराहरू बाँझै छाडिन थाले । असारे गीत अब सकियो । बरु खेतका आलीमा टिकटक बनाउने प्रचलन सुरु भयो ।
पहाडको भिरालो क्षेत्रमा अब धानखेति एकादेशको कथा बन्ला जस्तो छ । किनकी लगानी अनुसार आधा पनि आम्दानी हुँदैन । एक हलको मेलो धान रोपेर थन्क्याउँदासम्म कम्तिमा १० हजार रुपैयाँ खर्च हुन्छ, तर धान उत्पादन ५ हजार रुपैयाँको पनि हुँदैन । त्यसैले धानबाली लाग्ने पहाडका खेतहरू बाँझा छन् । आर्थिक कारणले धान खेतीगर्न मानिसहरूले छाडे । धानखेती गर्न छाडेपछि धान सँग सम्बन्धित धर्म, संस्कृति तथा चाड पर्वहरूले लामो समयसम्म निरन्तरता पाउलान् भन्न सकिन्न ।
हिजोसम्म नेपालमा कसैको आर्थिक हैसियत मापनको मुख्य आधार भनेको धान खेत थियो । छोरी दिनु पर्यो भने कति हलको मेलो खेत छ ? कति मुरी धान फल्छ ? भनेर सोध्ने चलन थियो । परालको टौवा हेरेर छोरी दिने चलन थियो । तर आज छोरी दिनु पर्दा केटाले कति पढेको छ ? कुन कुन ठाउँमा घर घडेरीहरू छन् ? भनेर सोध्ने चलन आइसकेको छ । हिजो कमजोर आर्थिक हैसियत भएको मान्छेलाई चिनाउनु पर्दा ‘फलानाको त नुवाई खाने फोहोटो’ समेत छैन भन्ने गरिन्थ्यो । तर आज खेतीपातीमा संलग्न मान्छेलाई गरिबको दर्जा दिइन्छ । किनकी लगानी अनुसारको मूल्य किसानले पाउँदैनन् ।
यसैगरी हिजो धानको नाप पाथी र मुरीमा गर्ने चलन थियो । अन्नपूर्ण हिमालतिर फर्केर धान नाप्ने (भर्ने) चलन थियो । पहिलो पाथीलाई राम भनिन्थ्यो । उन्नाइसौं पाथीलाई उठुरी भनिन्थ्यो । बिसौँ पाथीलाई मुरी भनिन्थ्यो । पहिलो पाथीलाई राम किन भनियो होला ? किनकी राम भनेका विष्णुका अवतार । विष्णु भनेका पालन कर्ता । मुरी पुग्नु भन्दा अगाडिको पाथीलाई उठुरी भनिन्थ्यो ।
किनकी यति धान भए पछि वर्ष दिनको धार्मिक कार्यसम्पन्न हुन सक्छ , अर्थात उठ्न सक्छ भन्ने अर्थको खुशियाली शब्द थियो त्यो । अब यी शब्दहरू हाम्रो भाषाबाट लोप भइसकेका छन् । धानखेती त लोप हुँदैन । किनकी प्राण धान्ने भनेको धानले नै हो । तर धानखेती गर्ने परम्परागत विधि लोप हुँदै गयो । खेती गर्ने परम्परागत विधिलाई आधुनिक विधिले विस्थापित गर्नु नराम्रो होइन । तर परम्परागत विधि लोप हुँदा धानखेती सँग जोडिएका धेरै जसो धर्म, संस्कृति तथा चाडपर्वहरू पनि लोप हुने खतरा देखियो । जोगाउने कसरी ?
प्रतिक्रिया राख्नुहोस्