चक्रपथ विस्तारको दोस्रो चरणको काम अलपत्र

नेपाल र चिनियाँ पक्षका फरक–फरक प्रस्तावमा सम्झौता नहुँदा विस्तारमा ढिलाई

काठमाडौँ- चक्रपथ दोस्रो खण्ड विस्तारमा अलमल भएपछि कलंकीदेखि बसुन्धरासम्मको सडक लामो समयदेखि अलपत्र अवस्थामा छ ।
सडक विस्तारका लागि ६ वर्ष अघि धमाधम रुख काटेर नयाँ लेन बनाउने भनियो तर काम अझै अलपत्र छ । सडक छेउमा पर्ने मठ मन्दिर, बस बिसौनी भत्काइए, फुटपाथ हटाइए तर ती सबै ठाउँ अहिले फोहोर सङ्कलन गर्ने स्थान बनेका छन् । जसले गर्दा सडक कुरुप देखिएको छ । सवारी आवागमनमा त समस्या छदैछ, सँगसँगै पैदलयात्री, छेउछाउका व्यापारी,स्थानीय लगायत सबैलाइ समस्या परेको छ । सडक छेउछाउमा अव्यवस्थित बस पार्किङले पनि यो क्षेत्र अस्तव्यस्त र कुरूप बन्दै गएको छ। विस्तारका लागि जथाभावी सडक भत्काइएका कारण पानी पर्दा हिलो र घाम लाग्दा धुलोले यात्रु र स्थानीय हैरान भएका छन् ।

यो सडक पहिलो चरणको विस्तार गर्दा आवश्यकता अनुसार डिजाइन हुन सकेको थिएन । त्यही कारण अहिले ग्वार्कोमा फ्लाइओभर राखिँदै छ । यस्तै दोस्रो खण्डमा पनि भविष्यमा बढ्न सक्ने यातायातको चाप धान्न सक्ने आवश्यक संरचना बनाइ दिन नेपालले चिनियाँ पक्षसँग आग्रह गरेको छ । सुरुमा भएको सम्झौताभन्दा फरक माग नेपालले गरेपछि चिनियाँ पक्षले निर्माणमा ढिलाइ गरेको हो ।

ढुङ्गेधारा, वसुन्धरा, गोंगवुलगायतका स्थानमा अन्डर पास राखिदिन र केही ठाउँमा पुल र ओभर पास पनि राखी दिन नेपालले आग्रह गरेको छ । तर पहिले भएको सम्झौतामा सडक र पुल ८ लेनको बनाइदिने उल्लेख थियो । चिनियाँ पक्षले पनि सडक निर्माणका लागि चाहिने हेवी इक्यूपमेन्टलगायतका सामग्री ल्याउँदा कर छुट दिनुपर्ने सर्त राखेको छ ।

नेपाल र चिनियाँ पक्षका फरक–फरक प्रस्तावमा सम्झौता नहुँदा बाँकी चक्रपथ विस्तारको काम अघि बढ्न नसकेको हो । यस्ता समस्या समाधान गर्न सरकारले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव आमनागरिकको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.