एकीकृत समाजवादीप्रति जनताको विश्वास बढेको छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताउनुभएको छ ।
दशौँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले पनि लोकतन्त्र खतरामा रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस पार्टीले लोकतन्त्रको रक्षा तथा मुलुकको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । उहाँले उक्त पार्टीमा रहेका अनुभवी नेताहरुले आगामी दिनमा राष्ट्रिय राजनीतिमा सही दिशानिर्देश गर्नुपर्नेमा जोड दिनुभयो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जनवादी र समाजवादी क्रान्तिबारे जानकारी दिँदै राष्ट्रको विकास तथा सुशासनका लागि सबै दलहरुले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आमजनता र नेतृत्वका बीचमा मत फरक भएपछि समस्या आउने गरेको धारणा राख्दै दलहरु जनताप्रति जवाफदेही हुनुपर्ने विचार व्यक्त गर्नुभयो । रोजगारी वृद्धि गर्न, शिक्षा, सहकारीलगायतका राष्ट्रिय समस्या समाधानमा सबै दल एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले हजारौँ सहिदको बलिदानबाट प्राप्त अहिलेको व्यवस्थालाई कमजोर हुन नदिनुपर्ने बताउनुभयो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रमाथि स्वेच्छाचारी, कमिसन, भ्रष्टाचार बढ्दै गएकाले त्यसको न्यूनीकरण गर्न संविधान संशोधन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले लोकतान्त्रिक आन्दोलनमा एकीकृत समाजवादीका नेताहरुको ठूलो योगदान रहेको बताउँदै समाजवादी आदर्श अवलम्बन गर्ने नेताहरुले सोहीअरूप आचरण सरल बताउनुपर्ने बताउनुभयो ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि विशेष परिस्थितिमा गठित पार्टीले देश र जनताको सेवामा क्रियाशील रहन सुझाव दिनुभयो । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सम्पूर्ण राष्ट्रको विकास तथा जनताको समृद्धिका लागि पार्टीभित्र नयाँ वैचारिक दृष्टिकोण महाधिवेशनबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले राष्ट्रिय स्वाधिनता बलियो बनाउन सबै दलहरुबीच सहमतिको खाँचो औँल्याउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले जनताको सामाजिक आर्थिक रुपान्तरणका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.