नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र हो : सञ्चारमन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र रहेको बताउनुभएको छ ।

चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित २४औँ वार्षिकोत्सव कार्यक्रमका उद्घाटन गर्दै मन्त्री शर्माले चलचित्रलाई आमसञ्चारको सशक्त माध्यमको रुपमा व्याख्या गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले पढाएर वा सुनाएर भन्ने कुरालाई श्रव्यदृश्यका माध्यमले सहजै बुझाउन सकिन्छ । देशमा भएको परिवर्तन र ऐतिहासिक घटनाक्रम तथा देशलाई योगदान दिएका व्यक्तित्वलाई लिएर निर्माण भएका चलचित्रलाई हामीले सघाउने घोषणा पनि गरिसकेका छौँ । किनकि चलचित्र मनोरञ्जन मात्र नभई सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम पनि हो ।”

उहाँले विसं २०२६ मा तयार भई लागू भएको चलचित्र ऐनलाई परिमार्जन गर्नुपर्नेमा आफू र सरकार स्पष्ट रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

“पुरानो ऐनले अहिलेका कठिनाई सम्बोधन गर्न सक्दैनन् भन्नेबारेमा मन्त्रालय स्पष्ट छ तर त्यसैले सम्पूर्ण चलचित्रकर्मी र यसमा जोडिएका सङ्घसंस्थाको राय सुझाव लिँदै प्रक्रियागत रुपमा काम अगाडि बढाएका छौँ । त्यो अहिले अन्य मन्त्रालयसँग सहमति लिने प्रक्रियामा छ”, मन्त्री शर्माले भन्नुभयो । उहाँले बोर्डले गरेका कामको समीक्षा गर्दै आगामी दिनमा उपयुक्त नीति तय गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले चलचित्र जीवन, साहित्य र समाजको ऐना रहेको बताउनुभयो । उहाँले बोर्ड गठन हुँदा बनाइएका योजनामध्ये केही पूरा भएका र बाँकी पूरा गर्ने गरी आफूहरुले काम गरिरहेका बताउनुभयो ।

बोर्डको २४औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान, चलचित्र मञ्च २०८० लोकार्पण, बोर्डको नयाँ लोगो सार्वजनिक, महिला चलचित्रकर्मीको अभिलेख समेटिएको पुस्तक विमोचनलगायत कार्यक्रम गरिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.