दर्ता नगरी सञ्चालन गरिएको म्यानपावरमा सिल, दुई भारतीय पक्राउ

परासी- पश्चिम नवलपरासीको सदरमुकाम परासीमा अवैध रुपमा म्यानपावर व्यवसाय सञ्चालन गर्ने दुई जना भारतिय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल सरकारले बैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाएको रसिया लगायतका मुलुकमा कामदार पठाउने भन्दै रामग्राम ५ बाईपास चोकमा खोलिएको जेडि मेनपावर सर्भिसेजलाई प्रहरी र श्रम तथा रोजगार कार्यालय बुटवलको टोलीले सिल गरेको हो ।

एक हप्ता अगाडी भारत मुम्बईका २४ वर्षिय निर्सग रविन्द्र राणे र मुम्बई कोलवा बस्ने ३७ वर्षिय जावेद मसिहले उक्त म्यानपावर संञ्चालनमा ल्याएका थिए । बिना दर्ता रसिया, अष्ट्रेलिया, ईटली लगायतका देशमा कामदार पठाउने भन्दै घर भाडामा लिएर उनिहरुले म्यानपावर व्यवसाय सञ्चालन गर्दे आएका थिए ।

उनिहरुको साथ बाट प्रहरीले मोबाईल, ल्यापटप, भारतिय आधार कार्ड, चेकबुक, डेभिड कार्ड लगायतका सामाग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

हाल उनिहरुले कति जनालाई विदेश पठाए वा पठाउने प्रक्रियामा छ भन्ने बारेमा भने थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी रेशम बोहोराले जानकारी दिनुभयो ।

उक्त म्यानपावरको मुख्य कार्यालय मुम्बईमा रहेको र यहाँबाट कामदार त्यहाँ पठाई अवैध रुपमा वैदेशिक रोजगारमा पठाउने प्रयोजनका लागी म्यानपावर खोलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय बिना दर्ता अवैध रुपमा म्यानपावर संञ्चालन गर्ने र एजेन्ट बनाएर मानिसलाई प्रलोभनमा पार्ने काम बढ्दै गएको छ । चालु आर्थिक वर्षमा मात्रै ४ ओटा त्यस्ता म्यानपावरलाई कारवाही गरिएको श्रम तथा रोजगार कार्यालय बुटवलका अधिकृत केशवराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.