नयाँ सत्ता समीकरणको अपेक्षा, राजनीतिक स्थिरता

काठमाडौं- केही दिन यतादेखि तरङ्गित सत्ता राजनीतिले कोल्टे फेरेसँगै वर्तमान सरकार सङ्कटमा परेको छ भने नयाँ सत्ता समीकरणको आधार तयार भएको छ ।

संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमत भएका छन् । कांग्रेस-एमालेको सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ ।

केही दिन यतादेखि कांग्रेस-एमालेका शीर्ष दुई नेताबीच सत्ता साझेदारीका विषयमा छलफल भैरहेको भनी गरिएका विश्लेषणहरु अन्ततः सत्य सावित भएका छन् ।

कांग्रेस-एमालेका दोस्रो तहका नेताहरूबीच संवाद भैरहेको चर्चाकाबीच पछिल्लो समय सभापति शेरबहादुर देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच बाक्लिएको भेटवार्ताले सोमबार मध्यराति मूर्तरुप पाएको छ । नयाँ सत्ता समीकरणसहितको सहमतिपत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले राति नै हस्ताक्षर गर्नुभएको छ ।

प्रमुख ती दुई दलका बीचमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूको दाबी छ ।

राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ  ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले र कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताउनुभएको छ ।

राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुन समेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन दुई दल बीच समझदारी भएको उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

पछिल्ला दिनमा निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधनको विषय उठ्दै आएको छ भने राजनीतिक स्थिरताको विषय पनि पेचिलो बन्दै गएको छ ।

लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधनसम्मका लागि ठूला दलहरुबीच संवाद र सहकार्य हुनुपर्ने आवाज पनि उठ्दै आएको छ । राजनीतिक स्थिरताका लागि संविधानमा सुधार गर्नुपर्ने प्रस्तावमा कांग्रेस एमाले सहमतिमा पुग्दा नयाँ समीकरण बनेको विश्लेषण गरिएको छ ।

नेताहरुले पनि सत्ता सहयात्राका लागि मात्र नभइ राजनीतिक स्थिरता र लोकतन्त्रको रक्षाका लागि कांग्रेस र एमालेबीच नयाँ सहकार्य भएको बताएका छन् ।

अब संविधानको समीक्षा गर्ने बेला भएको छ र समयसापेक्ष रुपमा आवश्यक परिमार्जन पनि गर्दै जानुपर्छ भन्ने आवाज सर्वत्र उठिरहेको छ । यो पृष्ठभूमिमा राजनीतिक स्थिरता दिने गरी निर्वाचन प्रणालीलगायतका विषयमा संविधानमा संशोधन गर्ने र आर्थिक रुपान्तरण गर्ने मुद्दामा सहमति गरेर जाने समझदारी भएको नेताहरुले बताएका छन् ।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारमा कांग्रेस र एमालेबीच सत्ता सहकार्य भएको थियो । २०७० माघमा गठन भएको कोइराला नेतृत्वको कांग्रेस-एमाले सम्मिलित सरकारका पालामा २०७२ असोजमा नेपालको संविधान जारी भएको थियो ।

संविधान बनेपछि कांग्रेस-एमालेबिच सत्ता सहकार्यको साइत जुरेको थिएन । संविधान निर्माणको उपलब्धि जस्तै अबको कांग्रेस-एमाले सहकार्यले निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गरी राजनीतिक स्थिरता दिन सके सहकार्यको औचित्य प्रमाणित हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.