स्थानीय उत्पादनको बजारीकरण गर्न म्याग्दीको कालीपुलमा कोसेली घर सञ्चालन

प्रताप बानियाँ, म्याग्दी– हिमालपारीको जिल्ला मुस्ताङ र म्याग्दीको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर म्याग्दीको कालीपुलमा कोसेली घर सञ्चालनमा आएको छ । जिल्लामा उत्पादित स्थानीय र अर्गानिक उत्पादनको प्रचारप्रसार, बिक्री–वितरण तथा बजारीकरण गर्ने उद्देश्यले कोसेली घर स्थापना गरिएको हो ।
म्याग्दी सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्क क्षेत्रमा पर्यटकलक्षित कोसेली घरमा म्याग्दीमा उत्पादन भएका कृषि उपज, वनपैदावर, लेकाली उत्पादन, हस्तकलाका सामान र घरायसी मसलाजन्य सामग्रीहरु बिक्रीको लागि राखिएको छ । कोसेली घरमा ढाका, अल्लो र उनीबाट बुनेका टोपी, सल, झोला, पर्स, साडी, स्वीटर छन् ।
यसैगरी बाँस र निगालोबाट बुनेका डालो, नाङ्लो, मुढा, बाटेको धुप, म्याग्दीमा उत्पादित सिस्नोको धुलो, रातो च्याउ, गुन्द्रुक, लेकाली भटमास, सिल्टीम्मुर, भाङ्गो, सिमी, दाल, फापरको पीठो, सिलाम, भुटेको मैक, मह, कोदो, आलु, लेकाली साग ढकायो, अचारलगायतका परिकारहरु पनि बिक्रीका लागि राखिएको महिला उद्यमी दिलु घतानेले जानकारी दिनुभयो ।
कालीपुल बसपार्क म्याग्दी र मुस्ताङ आवतजावत गर्ने मुख्य नाका मानिन्छ । म्याग्दीको छ वटै पालिकामा उत्पादन भएका स्थानीय कृषि उत्पादन र हस्तकलालगायत सामानहरुको बिक्री वितरण गर्नका लागि कालीपुलमा कोसेली घर स्थापना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । कोसेली घरलाई म्याग्दीमा उत्पादन हुने कृषि तथा लघुउद्यम सम्बन्धी विभिन्न सामग्रीको खरिद–बिक्री गर्ने साझा घरको रुपमा विकास गर्ने तयारीस्वरुप सञ्चालन गरिएको हो ।
बेनी नगरपालिकाका मेयर सुरत केसीले कालीपुल बसपार्क क्षेत्रमा सञ्चालित कोसेली घरलाई जिल्लामा आउने पाहुना, अतिथि र पर्यटकहरुको माझमा चिनारीको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले बेनी नगरपालिकामार्फत कृषि र पर्यटनको क्षेत्रलाई जोड दिइएको हुँदा स्थानीय उत्पादन र बजारीकरणमा सहयोग गरिने बताउनुभयो ।
पर्यटक सूचना केन्द्रको भवनमा सञ्चालनमा आएको कोसेली घरमा स्थानीय वस्तु तथा सामग्रीको बिक्री वितरण हुन थालेपछि म्याग्दी आउने पर्यटक तथा स्थानीय उत्पादनको खोजीमा रहेका उपभोक्ताहरुलाई समेत राहत मिल्नेछ । स्थानीय कृषि तथा लघुउद्यम सम्बन्धी सामग्रीको उत्पादन गर्नेहरुलाई पनि बजारको अभाव हटेर स्थानीय उत्पादनले बजार पाउनुका साथै जिल्लाको प्रवद्र्धन हुने देखिन्छ ।
यसअघि म्याग्दी र मुस्ताङ जिल्लाको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर बेनीको कालीपुलमा सूचना प्रवाह गर्नेगरी पर्यटक सूचना केन्द्र पुनः सञ्चालन गरिएको थियो । वि.सं. २०७५ सालमा म्याग्दी भ्रमण वर्षको अवसर पारेर स्थापना गरिएको पर्यटक सूचना केन्द्र कोरोना भाइरस र लकडाउनको कारण बन्द भएपछि गएको वैशाख १ गते नयाँ वर्षको अवसरमा पुनः सञ्चालन गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.