जंकफुड विस्तापित गर्न सामुदायिक विद्यालयका विद्यार्थीलाई टिफिन बक्स

स्याङ्जा- विद्यार्थीलाई पोषणमा सुधार गर्दै जंकफुड न्युनिकरण गराउने उदेश्यले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई टिफिन बक्स वितरण गरेको छ ।

बक्स वितरण गरिएसँगै दिवा खाजाको रुपमा प्रयोग हुने चाउचाउ बिस्कुटको विकल्पमा विद्यार्थीले घरबाट ल्याइएको ताजा र पोषिलो खानेकुरा खाने बानीको विकास हुन थालेको छ ।

कालीगण्डकी गाउँपालिकाले पोषणमैत्री पालिका घोषणा गर्नको लागि पोषिलो आहार पनि सूचकमा परेको कारण विद्यार्थीलाई टिफिन बक्स वितरण गरेको हो ।

दिवा खाजाको रुपमा चाउचाउ बिस्कुटको अत्यधिक प्रयोग गर्ने कालीगण्डकी भित्रका विद्यार्थीहरु घरबाटै ल्याएको पोषिलो र ताजा खानेकुरा खान थालेका छन् ।

कालीगण्डकी गाउँपालिकाल जंकफुडलाई निरुत्साहित गर्न कक्षा ६ र ७ मा अध्ययनरत सामुदायिक विद्यालयका ५५० विद्यार्थीलाई टिफिन बक्स वितरण गरेसँगै घरबाट ल्याइएको दिवा खाजा खाने बानीको विकास भएको हो ।

कक्षा ५ सम्म नेपाल सरकारले दिवा खाजा कार्यक्रम संचालन गरेकोले पहिलो चरणमा कक्षा ६ र ७ र आगामी आर्थीक वर्षमा ८, ९ र १० का विद्यार्थी यो कार्यक्रममा समावेश हुनेछन् ।

विद्यार्थी स्वस्थ्य भयो भने शैक्षिक गुणस्तर पनि बृद्धि हुने विश्वास पालिकाले लिएको छ । पालिकाबासीलाई शिक्षित र बौद्धिक बनाउन यो कार्यक्रम अघि सारिएको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो ।

पालिकाले शैक्षिक गुणस्तर बृद्धि गर्न आइसिटी ल्याब , टोल सिकाई कार्यक्रम, डिजिटल कक्षा कोठा, पठन सिप विकास कार्यक्रम जस्ता कार्यक्रम संचालन गरेकोमा विद्यार्थी पनि हर्षित छन् ।

जंकफुडकै कारण केही किशोरीहरुमा रक्त अल्पता देखिएपछि यसको निराकरणको लागि विद्यालयबाट पोषण सुधार कार्यक्रम अघि सारिएको हो ।

हेर्दा र सुन्दा सामान्य लाग्ने कार्यक्रम भएपनि विद्यार्थीलाई पोषणयुक्त आहार खुवाउने बानीको विकासले शैक्षिक गुणस्तर बृद्धि गर्ने र पोषण मैत्री पालिका घोषणा गर्न टेवा पुग्ने विश्वास कालिगण्डकी गाउँपालिकाले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.