लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु
सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको प्रजातन्त्र समर्थक कार्यकर्ताहरूको एक समितिले बताएको छ ।
“दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ, मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्”, स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा भनेको छ ।
गत वर्ष सेना र अर्धसैनिक र्यापिड फोर्स (आरएसएफ) बीच युद्ध सुरु भएपछि प्रजातन्त्र समर्थक प्रदर्शनहरू आयोजना गर्ने र अग्रपङ्क्तिमा सहायता समन्वय गर्ने सुडानभरका सयौँ समितिमध्ये उक्त समिति एक थियो ।
सेन्नारमार्फत आरएसएफको भर्खरैको प्रगतिबाट भाग्दै गर्दा भएको दुर्घटनामा ‘सम्पूर्ण परिवारको मृत्यु’ भएको समितिले बताएको छ । पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा शनिबार सैन्य आधार कब्जा गरेको आरएसएफले घोषणा गरेको थियो ।
प्रत्यक्षदर्शीहरूका अनुसार आरएसएफले छिमेकी गाउँहरूमा घुसपैठ गरेर त्यहाँका बासिन्दाहरूलाई नाइल नदीपारि काठको सानो डुङ्गाहरूमा भाग्न बाध्य बनाएको थियो । संयुक्त राष्ट्रसङ्घले सोमबार तीन दिनभित्र सिन्जाबाट मात्र कम्तिमा ५५ हजार मानिस भागेको बताएको थियो ।
छिमेकी राज्य गेडारेफमा यसै साता करिब एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीहरूले बिहीबार अनुमान गरेका छन् । राज्यका स्वास्थ्यमन्त्री अहमद अल–अमिन एडमले ९० हजार विस्थापितहरूको आधिकारिकरूपमा दर्ता गरिएको बताउनुभयो ।
हाल सम्पूर्ण सुडानमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन् । यसलाई राष्ट्रसङ्घले विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट भनेको छ ।
सेना प्रमुख अब्देल फतह अल-बुरहानका बफादार सेना र उहाँका पूर्वडेपुटी मोहम्मद हमदान डागलोको नेतृत्वमा रहेको आरएसएफबीच लडाइँ सुरु भएपछि सन् २०२३ अप्रिलदेखि सडान युद्धको चपेटामा छ ।
सुडानमा संयुक्त राज्य अमेरिकाका राजदूत टम पेरिएलोका अनुसार चार करोड ८० लाख जनसङ्ख्या भएको सुडानमा द्वन्द्वले हजारौँ मानिसको ज्यान लिएको छ । केही अनुमानअनुसार मृतकको सङ्ख्या एक लाख ५० हजारसम्म पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्