पृथ्वीराजमार्ग अवरुद्व, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

तनहुँ- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी-७ शेराटारमा रहेको अस्थायी कल्भर्ट बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यस राजमार्ग भएर आवतजावत गर्ने सवारीसाधानले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दे-६ र शुक्लागण्डकी–७ जोड्ने फेदीखोलामा आएको बाढीले कल्भर्ट बगाएपछि समस्या पैदा भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।
राजमार्ग हुँदै यात्रा गर्ने सवारी चालक र सर्वसाधारणलाई वैकल्पिक मार्गको प्रयोग गर्न र सतर्कता अपनाउन अनुरोध गरिएको हो । सडक डिभिजन कार्यालयको समन्वयमा आज पुनः कल्भर्ट राखेर सवारीसाधान सञ्चालन गर्ने योजना रहेको तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कल्भर्ट बगाएपछि राजमार्गमा सयौं सवारीसाधान रोकिँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो ।” वैकल्पिक मार्गका रूपमा रहेको तनहुँको सदरमुकाम दमौलीबाट लमजुङको दुईपिप्ले हुँदै पोखरा–काठमाडौँलगायत सहरमा आवतजावत गर्न सकिने उहाँले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्