विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड पदमुक्त

नयाँ सरकार गठनको बाटो खुला

काठमाडौँ- प्रतिनिधि सभाबाट विश्वासको मत पाउन असफल भएसँगै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पदमुक्त हुनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सदनको आफुलाई विश्वास छ भनी राखेको विश्वासको मत सम्बन्धिको प्रस्ताव दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको हो ।

प्रतिनिधि सभामा आज उपस्थित २५८ मध्ये  प्रस्तावको पक्षमा ६३ मत विपक्षमा १९४ मत र मत दिन्न भन्ने पक्षमा १ मत  परेको थियो ।

नेपाली काँग्रेस, एमाले, राप्रपा, लोसपा, जसपा लगायतका पार्टीहरुले विश्वासको मत सम्बन्धि प्रस्तावको विपक्षमा मतदान गरे भने माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीले विश्वासको मत सम्बन्धि प्रधानमन्त्रीको प्रस्तावको पक्षमा मतदान गरे ।

प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धिको प्रस्ताव अस्वीकृत भएसँगै संविधानत: प्रधानमन्त्री स्वत: पदमुक्त हुनु भएको छ । प्रधानमन्त्री पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुला भएको छ।

यो सँगै करिव ढेड बर्ष कार्यकालमा प्रधानमन्त्रीले पाँच पटक विश्वासको मत लिनु भएको हो ।

नेपालको संसदीय इतिहासमा यसरी प्रधानमन्त्रीले डेढ वर्षमै पाँचौँपटक विश्वासको मत लिनुपरेको सम्भवतः यो पहिलो घटना हो ।

विसं २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसद्मा तेस्रो ठूलो दल बनेको माओवादी केन्द्रका अध्यक्ष दाहाल २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उहाँले पहिलोपटक २०७९ पुस २६ गते दुई सय ६८ जनाको विश्वासको मत प्राप्त गर्नुभएको थियो ।

त्यसको झण्डै साढे दुई महिनापछि एमालेलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभयो । त्यसबेला उहाँलाई एक सय ७२ जनाले विश्वासको मत दिएका थिए ।

प्रधानमन्त्री दाहालले २०८० साल फागुन ३० गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बनाएपछि तेस्रोपटक विश्वासको मत लिनुभयो । त्यसबेला एक सय ५७ जनाले उहाँको पक्षमा मतदान गरे ।

त्यसपछि जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले २०८१ जेठ ७ गते कांग्रेसलगायत विपक्षी दलको संसद् बैठक अवरोधबीच चौथोपटक विश्वासको मत लिनुभयो । त्यसबेला उहाँको पक्षमा एक सय ५७ सांसदले मत दिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.