प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ ।
राष्ट्रपति राम चन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।
प्रधानमन्त्री पुष्प कमल दाहालले विश्वास गुमाएसँगै राष्ट्रपतिले शुक्रबार बहुमतीय सरकार गठनका लागि प्रधानमन्त्रीमा दावी पेश आह्वान गर्नु भएको थियो ।
नेकपा एमाले र नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको मात्र दावी पेश भएको थियो । भोलि विहान ११ बजे सपथको कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपल्ट प्रधानमन्त्रीका रूपमा सिंहदरबार प्रवेश गर्दै हुनुहुन्छ । असार १७ गते राति भएको सात बुँदे सहमतिले काँग्रेस–एमालेविच छैठौं सत्ता सहकार्यको ढोका खोलेसँगै ओलीले प्रधानमन्त्रीका रूपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्न लाग्नुभएको हो ।
अध्यक्ष ओली यसअघि २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसक्नुभएको छ । नेकपा (एमाले)का वर्तमान अध्यक्ष ओली विभिन्न समयमा मुलुकको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भैसक्नुभएको छ । ओली २०७२ असोज २४ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित हुनुभयो ।
यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । उहाँलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ०७८ वैशाख ३० मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गर्नुभयो । अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दाबी उपलब्ध समयसीमाभित्र राख्न असमर्थ भएपछि ओलीलाई पुनः प्रधानमन्त्री नियुक्ति गरिएको थियो ।
नवनियुक्त प्रधानमन्त्री ओली २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । २०७१ साउन १ मा भएको नेकपा एमालेको नवौं राष्ट्रिय मधिवेशनबाट तत्कालिन बरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित ओली २०७८ मङ्सिर १० गते चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनबाट पुन: अध्यक्षमा निर्वाचित हुनुभयो । बाबु मोहनप्रसाद ओली र आमा मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते तेह्रथुमको इवा गाउँमा उहाँको जन्म भएको थियो ।
विक्रम संवत् २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । वि.सं २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक उहाँ त्यही वर्ष जेल पर्नुभयो । ओली तत्कालिन नेकपा (माले)को संस्थापक मध्येका एक हुनुहुन्छ । पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गर्नुभयो ।२०४४ मा जेलमुक्त भएपछि उहाँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)को केन्द्रीय समिति सदस्य र २०५४ सम्म लुम्बिनी अञ्चलको इन्चार्ज बन्नुभयो ।
नवनियुक्त प्रधानमन्त्री ओलीले आफ्नो एउटा लेखमा लेख्नुभएको छ- जे कल्पना गरेका छौं, त्यसका लागि हरेक दिन एक पाइला अगाडि बढाऊ । पाइला कति अघि बढ्यो होइन, पाइला चालियो कि चालिएन भन्ने कुरा हेक्का गर । उहाँकै शब्दमा उहाँको जीवन यही दर्शनमा बाँचेको छ । उहाँ भन्नुहुन्छ- तिमी खुसी भए देश सुखी हुनेछ । जसरी तिमी खुसी हुन तिमीले गर्छु भनेको काम गर्नुपर्छ, त्यसैगरी देश सुखी पनि देशले गर्छु भनेको काम पूरा गर्नुपर्छ । आफ्नो ध्यान यसैमा केन्द्रित भएको उहाँको भनाइ छ । तर अब आम नेपालीको ध्यान भने नवनियुक्त प्रधानमन्त्री ओलीतर्फ केन्द्रित हुने कुरामा दुई मत छैन ।।
प्रतिक्रिया राख्नुहोस्