भक्तपुरको डोलेश्वरमा एक महिने साउने मेला सुरु, दर्शनार्थीको भीड

भक्तपुर- साउन महिना सुरु भएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं- ८ सिपाडोल स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा एक महिने मेला सुरु भएको छ ।

केदारनाथको शीर मानिएको डोलेश्वर महादेव मन्दिरमा बिहानैदेखि दर्थनार्थीको भीड लागेको हो । दर्शनार्थीको आगमनले डोलेश्वर महादेव मन्दिर परिसर यतिबेला भरिभराउ भएको छ । साउन महिनाभरी लाग्ने यस मेला भएकाले पनि यहाँ हजारौंको संख्यामा दर्शनार्थी सहभागी भएका छन् ।

यस्तै आशापुरी महादेव मन्दिरमा पनि पूजा पाठ गर्ने, रुद्री, होम गर्ने र साउन महिनामा व्रत बस्ने महिला दर्शनार्थीको भीड लागेको छ । यहाँ भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रे जिल्लाका विभिन्न ठाउँबाट दर्शनार्थी आउने गरेका छन् ।

यो वर्ष साउन १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला लाग्ने भएको छ । मेलाका लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सहजताका लागि लाइन कुपन प्रणाली व्यवस्था गरेको छ ।

ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको सहज बन्दोबस्त मिलाइएको छ । विहान चन्द्रविनायक मन्दिर पौखेलदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्रा गरिएको छ ।

शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भएकाले पूजा गर्न एक घण्टाभन्दा बढी लाइन बस्न नपर्ने गरी व्यवस्थापन गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

मेलाबाट करिब एक करोड रुपैयाँ आम्दानी हुने तथा १० लाख खर्च हुने अपेक्षा गरिएको छ । विशिष्ट धर्मगुरुबाट धार्मिक प्रवचन तथा कलाकारहरूबाट भजन कीर्तन हुने भएको छ ।

मेलाको ३८ दिन नै स्थानीय गुरुहरूबाट नित्य पूजा, पाठ पारायण कार्य तथा विमला गंगा आरती हुनेछ । मन्दिरमा भारतीय दर्शनार्थीहरुको बाक्लो उपस्थिति छ । पञ्चस्नान गर्ने दर्शनार्थीका लागि रु एक हजार एक सयको रसिद काटेर दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस मन्दिरलाई विक्रम संवत् २०६६ साल भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.