सहकारी कारबाहीको सिफारिस

धनकुटा- बचतकर्ताको साढे चार करोड रकम अपचलन गरेको उजुरी परेपछि धनकुटा नगरपालिकाले छानबिन र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।

धनकुटा नगरपालिकामा उजुरी आएपछि रकम फिर्ता गराउन प्रयास गर्दा पनि अटेर गरेपछि थप कानुनी कारबाहीका लागि प्रहरीमा पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

बचतकर्ताको रकम अपचलनको उजुरी परेका सहकारी संस्थामध्ये धनकुटा नगरपालिका–६ मा रहेको ‘हाम्रो कृषि सहकारी संस्था लिमिटेड’ले सबैभन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।

उक्त संस्थाका ६० बढी बचतकर्ताको ४ करोड २९ लाख २४ हजार ७ सय १६ रुपैयाँ बचत फिर्ता नगरेको नगरपालिकाले जनाएको छ । संस्थाका अध्यक्ष मञ्जु बस्नेतका नाममा नगरपालिकाले प्रहरीमा थप छानबिनका लागि पत्राचार गरेको छ ।

यस्तै, धनकुटा–६ स्थित समृद्धि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र खड्काका नाममा पनि उजुरी परेको छ । उक्त संस्थाले १८ जना बचतकर्ताको ६ लाख ९६ हजार १ सय २५ बचत फिर्ता नगरेको पाइएको छ ।

यता धनकुटा नगरपालिका–१ मा रहेको अरुण उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गणेश पोख्रेलले सहकारीको बचत, सम्पत्ति हिनामिना गरेको तथा वचत रकम आफूखुसी परिचालन गरी संस्थालाई हानि नोक्सानी पुर्‍याएको दाबी गरिएको छ ।

संलग्न व्यक्तिहरुले धनकुटा नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ७९ अनुसार कसुर गरी बचतकर्ताको रकम अपचलन गरेको पाइएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विकास अधिकारीले जानकारी दिनुभयो ।

उता, जिल्ला प्रहरी कार्यालयले सहकारीको रकम चार्टर एकाउन्टेन्टमार्फत पुष्टि गरेर नगरपालिकाले पठाउनुपर्ने जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी श्यामसिं चौधरीले सहकारीलाई कारबाहीका लागि नगरपालिकामार्फत पत्र पठाइए पनि अपचलन गरिएको रकम अडिटर वा सीएमार्फत पुष्टि गरेर पठाउन जरुरी रहेको बताउनु भयो ।

यसअघि नै नगरपालिकाले सहकारी ऐन विपरीत कार्य गरेको भन्दै १७ वटा सहकारी संस्था खारेज गरिसकेको छ । यस्तै, नगरपालिकाले सहकारीमार्फत ऋण लिएर साँवा-व्याज फिर्ता नगर्ने ऋणीको समेत तीनपुस्ते विवरण संकलन थालेको छ । सम्बन्धित सहकारी संस्थाहरुमार्फत विवरण माग गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.