खानेपानीमन्त्रीद्वारा मेलम्चीको सुरुङ निरीक्षण

काठमाडौँ- खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ एवं खानेपानी प्रशोधन केन्द्र र त्यहाँको ल्याबको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा मन्त्री यादवले काठमाडौँका नागरिकलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

उहाँले भन्नुभयो, “फोहर पानी कुनै पनि हालतमा काठमाडौँ नजाओस्, सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्नुहोला, काठमाडौँमा सफा, शुद्ध र स्वच्छ पानी बाह्रै महिना वितरण गर्नका लागि आवश्यक सबै व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध छ ।”

विसं २०७६ मा मेलम्चीमा आएको प्राकृतिक विपत्तिबाट क्षति भएको र मेलम्चीको पानी बाह्रै महिना काठमाडौँमा वितरण गर्न समस्या भएको उल्लेख गर्दै मन्त्री यादवले समस्या समाधानसहित काठमाडौँ उपत्यकामा बाह्रै महिना कसरी पानी पठाउने भन्ने विषयमा सरकार गम्भीर भएर लागेको बताउनुभयो ।

काठमाडौँवासीलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न बिदाका दिनमा पनि काम गर्न उहाँले कर्मचारीहरूलाई आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “उपकरणलगायत बजेटमा समस्या छ भने मलाई भन्नुस्, हामी दिन्छौँ तर काठमाडौँवासीको स्वच्छ पानी खाने सपना पूरा गर्नुस् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.