गुरुकुलमा संस्कृत पढ्दै दलित विद्यार्थी- (तस्वीर)

मकवानपुर- नेपाली भाषाको जननी भएर पनि संस्कृत भाषा आजभोली बिद्यालयहरुमा पढाई हुँदैन । संस्कृत भाषा भन्दा अंग्रेजी भाषाप्रतिको लगाव बिद्यार्थी र अभिभावकमा देखिन्छ ।

संस्कृत भाषाले नेपाली भाषा, परम्परा र संस्कृतिको जगेर्ना गर्ने भएकाले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडानम्बर–१८ हर्नामाडीमा १८ जना बालकहरु संस्कृत अध्ययन गरिरहेका छन् । तीमध्ये १५ जना दलित बालक रहेका छन् ।

दुई महिनाअघि वैदिक वानप्रस्थ आश्रमद्वारा सञ्चालित संस्कृत गुरुकुलमा भर्ना भएका हेटौंडा ८ का सम्राट दराइली अहिले मज्जाले संस्कृत श्लोकहरु वाचन गर्नसक्ने भएका छन् ।

आमा बुवाको इच्छा र संस्कृत पढ्ने आफ्नै चाहनाले गुरुकुल पुगेका दराइलीलाई संस्कृत पढेर ज्योतिष बन्ने रहर छ ।

शिरमा ढाका टोपी, निधारमा लामो टिका लहरै बसेर गूरुले उच्चारण गर्नुभएको मन्त्र दोहोर्‍याउँदै छन् १८ जना बालकहरु । उनीहरु गुरुको सानिध्यमा बसेर संस्कृत अध्ययन गरिरहेका छन् । तीमध्ये १५ जना दलित समुदायका बालक छन् । यहाँ उदयपुर, सप्तरी, बारा देखिका विद्यार्थी अध्ययनकालागि आएका छन् ।

गुरुकुलले यहाँ अध्ययनरत सबै बटुकको व्रतबन्ध गरिदिएको छ । गुरुकुलको आफ्नै आचरणमा रमाएका विद्यार्थीहरु बिहान उठेदेखि नित्यकर्म, वेदअध्धयन र ध्यानमा विद्यार्थी जुट्छन् ।

यस गुरुकुलमा सामाजिक, नेपाली, गणित, विज्ञान र अंगे्रजी ५ सय पूणांक र २ सय पूर्णाङ्कको संस्कृत व्याकरण र संस्कृत साहित्य अध्यापन गराइन्छ ।

मुट्ठीदानबाट नै चलेको यस गुरुकुलमा संस्कृत अध्यापन गराउने ३ गुरु र सेवानिवृत्त भएका स्थानीय शिक्षकहरुले निशुल्क रुपमा पढाउने गरेको प्रधानाचार्य खेमप्रसाद कोइरालाले बताउनुभयो ।

ज्योति माध्यमिक विद्यालयको पूरानो भवनमा सञ्चालन गरिएको गुरुकुल दर्ता प्रक्रियामा नै रहेका कारण चरम आर्थिक संकटबाट गुज्रिरहेको छ ।

विद्यार्थी अध्ययनका बेला बस्ने आसनको उचित प्रबन्ध नहुँदा प्रयोग भईसकेका फ्लेक्स, कार्टुन ओछएर बिद्यार्थी बस्न बाध्य छन् । सनातन धर्म, संस्कार र संस्कृतिका साथै व्यवहारिक ज्ञान प्रदान गर्न सञ्चालित गुरुकुल शिक्षालाई राज्यले प्राथमिकतामा राख्न जरुरी देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.