झण्डै एक महिनादेखि रेसुङ्गा विमानस्थलबाट उडान अवरुद्ध

गुल्मी- वर्षा लागेसँगै खराब मौसमका कारण गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा झण्डै एक महिना यता उडान अबरुद्ध हुँदै आएको छ । हप्ताको तीन पटक उडानको अनुमति पाएको विमानस्थलमा गत असार १४ गतेपछि मौसम खराब हुँदा उडान हुन सकेको छैन् ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको थियो । तर उडान गर्ने बिहानीको समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले समस्या हुँदै आएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो ।

रेसुङ्गा विमानस्थलमा बिहानी समयमा मात्रै उडानको लागि उपयुक्त हुने प्राविधिकको निष्कर्ष रहेको छ । दिउँसोको समयमा हावा चल्ने भएकाले उडान गर्न समस्या हुने गर्दछ ।

नेपाल एयरलाइन्सको ट्वीनिटर जहाज उडान गर्दै आएको छ । यात्रुको अत्याधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको थियो ।

तर पछिल्लो केहि समयदेखि शुक्रबार मात्रै उडान भइरहेको स्टेशन प्रमुख थापाले बताउनुभयो । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका छन् ।

गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्ग, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र रुरुक्षेत्र घुम्न जान थालेका हुन् । गुल्मीमा हाल फ्रान्स, बेल्जियस र स्पेनबाट पर्यटकहरु घुम्नको लागि आइरहेका छन् ।

अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।

जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्ची बाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यवसायिक उडान शुरु गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.