बागमतीमा पहिलो पटक कांग्रेसले नेतृत्व गर्दै, मुख्यमन्त्रीमा लामाले आज दाबी पेश गर्ने

मकवानपुर- नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि आज दाबी पेश गर्नुहुने भएको छ ।

नेकपा एमालेका २७ सांसद र नेपाली काँग्रेसका ३७ सांसदको हस्ताक्षर सहित नेता लामाले प्रदेशको पाँचौं मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुहुने भएको छ । १ सय १० प्रदेश सभा सदस्य रहेको बागमतीमा मुख्यमन्त्रीका लागि बहुमत जुटाउन ५६ मत आवश्यक पर्छ । जुन सहज रुपमा पुग्छ ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते साँझ ५ बजेभित्र संविधानको धारा १६८ को २ अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । मुख्यमन्त्रीको दाबी पेशका मंगलबार बिहान ११ बजे प्रदेश प्रमुखकहाँ जाने नयाँ सत्ता समिकरणका दुई दलको तयारी छ ।

पहिलो पटक सरकारको नेतृत्वमा कांग्रेस

बागमती प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पहिलो पटक सरकारको नेतृत्व गर्ने अवसर पाएको छ । नयाँ सत्ता समिकरणमा भएको सहमती अनुसार बागमती प्रदेशमा कांग्रेसले सरकार बनाउने भएको हो ।

काँग्रेस संसदीय दलका नेता बहादुर सिं लामा बागमतीको मुख्यमन्त्री बन्नुहुने भएको छ । देश संघीयतामा गएपछि वागमती प्रदेशमा पहिलो पटक नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको हो ।

नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा बागमती प्रदेशको पाँचौं मुख्यमन्त्री बन्दै हुनुहुन्छ । यसभन्दा अघि नेकपा एमालेले २ पटक, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक–एक पटक प्रदेशको नेतृत्व गरेका छन् ।

बहादुर सिं लामा को हुन् ?

विक्रम संवत् २०२७ कार्तिक ८ गते नुवाकोट जिल्ला किस्पाङ्ग गाउँपालिका–५ मनकामनामा जन्मिनुभएका लामा सानैदेखि अब्बल र हक्की स्वभावका हुनुहुन्थ्यो । स्नातकसम्मको शिक्षा हाँसिल गर्नुभएका लामाले २०४३ सालमा नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीति जिवन सुरु गर्नुभएको हो ।

शंकरदेव क्याम्पसको नेवि संघ ईकाई सदस्य, नेविसंघ नुवाकोट क्षेत्रिय सभापति, नेपाली काग्रेस जिल्ला उपसभापति हुनुभयो । २०५४ सालको स्थानीय तहको निर्वाचनमा नुवाकोट जिल्लाको तत्कालीन मनकामना गा.वि.स अध्यक्षमा निर्वाचित हुनुभयो ।

२०६४ सालको निर्वाचनमा नुवाकोट क्षेत्र नं.३ बाट संविधानसभा सदस्यमा लामा पराजित हुनुभएको थियो । २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा संविधानसभा सदस्य पदमा निर्वाचित हुनुभयो ।

२०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्र मानिने लामा नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा ०७९ चैत २६ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.