विश्वविद्यालयलाई खोज र अनुसन्धानको केन्द्र बनाउन शिक्षाविद्हरुको सुझाव

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको स्वायत्ततामाथि कुनैपनि अंकुश लगाउन नहुने शिक्षा विद्हरुको भनाइ छ । विश्व विद्यालयको प्राज्ञिक क्षमता अन्तराष्ट्रिय स्तरमासमेत प्रतिश्पर्धी बनाउन थप मेहनत गर्न जरुरी भएको प्राज्ञहरुले सुझाव दिनुभएको हो ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन अल्मुनाई एशोशिएशन किर्तिपुरले आयोजना गरेको त्रिविको चुनौति र भावी कार्ययोजना र नेतृत्वको भूमिकाका बारेमा भएको छलफलमा त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर केदार भक्त माथेमाले युवा जनशक्ति देशबाट बाहिरिने क्रम रोक्न सबैभन्दा पहिले विश्वविद्यालयले नै वातावरण बनाउनुपर्ने बताउनुभयो । प्राध्यापक माथेमाले विश्वविद्यालयमा नयाँ खोज र अनुसन्धानको विषयलाई निरन्तर छलफल र बहसमा ल्याउनसके युवा विद्यार्थीहरुको संलग्नता रहने उल्लेख गर्नुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुहुँदै मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंहले विश्वविद्यालयले आर्थिक श्रोतको जोहो आँफैले गर्नसक्ने गरी अनुसन्धानको काम गर्नुपर्ने सुझाव दिनुभयो । डा सिंहले सरकारले दिएको अनुदान वा आर्थिक सहयोगको भरमा विश्वविद्यालय बाँच्न नसक्ने उल्लेख गर्नुभयो ।

त्रिवि स्वतन्त्र विद्यार्थी युनियन अल्मुनाई एशोशिएशनका संयोजक चाउयन लाइ श्रेष्ठले विश्वविद्यालयमा खुला प्रतिश्पर्धाको नाममा अझ बढी बेथिति बढेकोले प्राज्ञिक स्तर खस्कँदै गएको बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयलाई शिक्षा मन्त्रालयले आफ्नो विभागको जस्तो व्यवहार गरेको भन्दै स्वायत्त विश्व विद्यालयले मात्र प्रतिश्पर्धी जनशक्ति उत्पादन गर्न सक्छ भन्नुभयो ।

कार्यक्रममा  त्रिवि मानविकी तथा सामाजिक शाष्त्र अध्ययन संकायकी डिन प्रा डा कुशुम शाक्य, राजनीतिक विश्लेशक देवराज दाहाल लगायतका वक्ताहरुले विश्व विद्यालयको शैक्षिक अवस्था सुधारमा प्राध्यापक, विद्यार्थी र नीतिगत निर्णय गर्नेहरुको सामुहिक पहल हुनुपर्ने धारणा राख्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.