म्याग्दीमा बढ्दो पर्यटकीय चहलपहल (फोटोफिचर)

म्याग्दी – एक वर्षको अवधिमा हिमाली जिल्ला म्याग्दीको ३१ हजारभन्दा बढी पर्यटकहरुले भ्रमण गरेका छन् । गएको आर्थिक वर्ष २०८०÷०८१ मा ३१ हजार ३ सय ५४ जना विदेशी पर्यटकहरुले म्याग्दी जिल्लाको भ्रमण गरेका हुन् । आर्थिक वर्ष २०७९÷०८० मा भने २९ हजार ३ सय २८ जना पर्यटकहरुले म्याग्दीको भ्रमण गरेका थिए ।

यसअघि विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ पछि गतवर्ष सबैभन्दा धेरै विदेशी पर्यटकहरुले म्याग्दीमा भ्रमण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गतवर्ष म्याग्दी जिल्लाको भ्रमणमा २५ हजार ३ सय ३४ जना विदेशी पर्यटकहरु भित्रिएका छन्भने ६ हजार २० जना पर्यटकहरु भ्रमण गरेर बाहिरिएका छन् । तीमध्ये जिल्ला भित्रिने पुरुष पर्यटकहरु १२ हजार ९ सय ९१ र महिला १२ हजार ३ सय ४३ जना रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । यसैगरी भ्रमण सकेर बाहिरिनेमा पुरुष पर्यटक ३ हजार ५३ र महिला २९ सय ६७ जना रहेको तथ्याङ्क छ । म्याग्दीको भ्रमणका लागि भित्रिएका र बाहिरिएका कुल पर्यटकको संख्यामध्ये पुरुष १६ हजार ४४ जना छन् भने महिलातर्फ १५ हजार ३ सय १० जना पर्यटकहरु रहेको प्रहरीले जनाएको छ ।

तीमध्ये जिल्ला भित्रिने पुरुष पर्यटकहरु १२ हजार ९ सय ९१ र महिला १२ हजार ३ सय ४३ जना रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । यसैगरी भ्रमण सकेर बाहिरिनेमा पुरुष पर्यटक ३ हजार ५३ र महिला २९ सय ६७ जना रहेको तथ्याङ्क छ । म्याग्दीको भ्रमणका लागि भित्रिएका र बाहिरिएका कुल पर्यटकको संख्यामध्ये पुरुष १६ हजार ४४ जना छन्भने महिलातर्फ १५ हजार ३ सय १० जना पर्यटकहरु रहेको प्रहरीले जनाएको छ ।

गतवर्ष सबैभन्दा धेरै चैत महिनामा ५ हजार ८ सय ४९ जना र सबैभन्दा कम असार महिनामा ३ सय ८८ जना विदेशी पर्यटकहरुले म्याग्दीको भ्रमण गरेको जिल्ला प्रहरी कार्यालयले राखेको तथ्याङ्कमा उल्लेख छ । म्याग्दीको भ्रमण गर्न अफ्रिका, अमेरिका, अस्टेलिया, बहराईन, बेल्जियम, ब्राजिल, बेलायत, चिली, चाईना, कोलम्बिया, डेनमार्क, फिनल्याण्ड, फ्रान्ससहित विदेशका १०६ वटा मुलुकबाट पर्यटकहरु आएको म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

 म्याग्दीको भ्रमणमा अधिकांश पर्यटकहरु कास्कीको घान्द्रुकबाट पुनहिल, घोरेपानी तथा ढोरपाटन शिकार आरक्ष र छिमेकी जिल्ला मुस्ताङबाट आवतजावत गर्ने गर्दछन् । पर्यटकहरु कम आउनुमा खासगरी आर्थिक मन्दी मुख्य रहेको छ भने प्रतिकुल मौसम र सरकारले पर्यटकलाई अनिवार्य गाइडको व्यवस्था गरेको कारण पनि पर्यटक घटेको अनुमान गरिएको छ । तर कोरोना र लकडाउनपछि गतवर्ष पर्यटक आगमनको तथ्याङ्कअनुसार पछिल्लो समय म्याग्दी जिल्लामा भ्रमण गर्ने पर्यटकहरुको सङ्ख्यामा भने क्रमशः वृद्धि हुँदै गएको देखिन्छ ।म्याग्दीको भ्रमण गर्न आउने पर्यटकहरु अधिकांश सडकमार्ग भएर आउने गर्दछन् । पर्वतको मालढुङ्गा हुँदै बेनी, पश्चिम म्याग्दीको दरबाङ, उत्तरी भूरुङ–तातोपानी नाका र मुस्ताङ भएर म्याग्दीको भ्रमणमा पर्यटकहरु आउँछन् । यसैगरी कतिपय पर्यटकहरु टे«किङ एजेन्सीमार्फत सिधै हवाई–मार्ग भएर पनि जिल्लाको भ्रमणमा आउने गरेका छन्भने हिमालपारीको जिल्ला मनाङ हुँदै मुस्ताङबाट समेत पर्यटकहरु जिल्ला भित्रिने गर्दछन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ नेपालका केन्द्रीय सचिव एवं होटल याक बेनी प्रालिका सञ्चालक ताराप्रसाद आचार्य (बाबुराम)ले कोभिडपछि आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढेको बताउनुभयो । उहाँले म्याग्दी जिल्लाको भ्रमण गर्न आउने पर्यटकहरुको बसाई लम्ब्याउनका लागि आवश्यक भौतिक पूर्वाधारहरुको निर्माण गरी पर्यटनमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्लामा रहेका विभिन्न पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरुको विदेशी पर्यटकहरुले भ्रमण गर्ने गरेका छन् । म्याग्दीको भ्रमणमा आउने अधिकांश पर्यटकहरु घोरेपानी, पुनहिल, फुलबारी, महरेडाँडा, खोप्रालेक, रुप्से तथा नारच्याङ झरना, संसारकै गहिरो अन्धगल्छी, राउण्ड धौलागिरि र अन्नपूर्ण पदमार्गमा ट्रेकिङ गर्न, धौलागिरि, अन्नपूर्ण र गूर्जा हिमालको आरोहण गर्नका लागि आउने गरेको पाइन्छ ।

 त्यस्तै सिङ्गा, भूरुङ–तातोपानी, पाउद्वारलगायत स्थानमा रहेका तातोपानीका कुण्डमा स्नान गर्न, पर्यटकीय क्षेत्र टोड्के, धार्मिक क्षेत्र गलेश्वरधाम, पौलस्त्य पुलहाश्रम, जगन्नाथधाम, केभहिल, स्वर्गाश्रम एवं मालिका मन्दिर, ताकम कोतलगायत क्षेत्रको दर्शन गर्न र ती ठाउँबाट देखिने मनोरम दृष्यावलोकन गर्नका लागि पर्यटकहरु आउने गरेका छन् । म्याग्दीमा रहेका विभिन्न ताल र झरनाहरुमा पनि पर्यटकहरु पुगेर रमाउने गर्छन् ।

पछिल्लो समय नेपालीहरुमा समेत घुम्नुपर्छ भन्ने बानीको विकास भएपछि विदेशी पर्यटकको तुलनामा स्वदेशी पर्यटकहरु धेरै घुम्ने गरेका छन् । तर विदेशी पर्यटकको तथ्याङ्क राख्ने गरिए पनि स्वदेशी पर्यटकहरुको भने तथ्याङ्क राखिएको छैन । म्याग्दीको भ्रमणमा समेत विदेशीको तुलनामा स्वदेशी पर्यटक धेरै आउने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

 

कुन महिनामा कति पर्यटक ? (आ.व. ०८०÷८१)

महिना         पर्यटक सङ्ख्या

साउनः      ९७४

भदौः          ९७२

असोजः         ४२९८

कात्तिकः        ४३५७

मंसिरः         ३१९९

पुसः           १६२७

माघः          १५७७

फागुनः         २४४४

चैतः           ५८४९

बैशाखः         ४२०३

जेठः           १४६६

असारः       ३८८

जम्माः         ३१,३५४

भित्रिएकाः      २५,३३४

बाहिरिएकाः     ६,०२०

स्रोतः जिल्ला प्रहरी कार्यालय, म्याग्दी ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.