बिरामीको मृत्युपछि उत्पन्न तनावपूर्ण स्थति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार

सुदूरपश्चिम– उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको नोभा अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले आज चार सेल अश्रुग्यास प्रहार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता गङ्गादत्त बडूले अस्पतालमा तोडफोड हुन थालेपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीका तर्फबाट चार सेल अश्रुग्यास प्रहार गर्नुपरेको  बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले स्थिति सामान्य अवस्थातिर गइरहेको छ, अस्पताल प्रशासन र मृतक पक्षका बीच समस्या समाधानका लागि छलफल चलिरहेको छ ।” सशस्त्र प्रहरी बलले पनि केही सेल अश्रुग्यास प्रहार गरेको थियो ।
चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले गरेको तोडफोडबाट अस्पतालमा क्षति पुगेको छ । कमलपित्त (जन्डिस)भएको भनेर उपचारका लागि अस्पताल पुगेका कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका–२ का १७ वर्षीय युवक नसिभ चौधरीको हिजो मृत्यु भएको थियो । आफन्तले उपचारमा गरिएको लापरबाहीका कारण चौधरीको मृत्यु आरोप लगाएका छन् । तनावपूर्ण अवस्थालाई थप बिग्रिन नदिन धनगढीको मुख्य सडकसँगै जोडिएको उक्त अस्पताल आसापसमा आज दिनभरि नै ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
उपचारमा संलग्न चिकित्सकमाथि कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाने मृतकका आफन्तले बताएका छन् । निजी क्षेत्रबाट सञ्चालनमा रहेको नोभा अस्पतालका पदमराज भट्टले भने उपचारमा लापरबाही नभएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.