बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान

बुटवल- बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन् । बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा रहेको हाइमास्ट लाइटको स्वीच अन गरेर उद्घाटन गर्दै बुटवललाई उज्यालो शहरका रुपमा विकसित गर्दै रात्रीकालीन बजार सञ्चालन गर्ने योजनाले मूर्त रुप लिदै गरेको बताउनुभयो ।

उहाँले बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलहरुमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरु जडान गरेको बताउनुभयो ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानहरुमा चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरेको बताउनुभयो ।

बुटवलका योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भएका छन् ।

त्यस्तै वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान भएका छन् ।

यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान भएको बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताउनुभयो ।

२ करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपैयांमा नेपाल पावर सोलुसन प्रालि हेटौडासंग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भइ फागुन २ गते शिलान्यास भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.