पहिरोको उच्च जोखिममा राम्चे

पूर्वी नवलपरासी- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको राम्चे गाउँ पहिरोको उच्च जोखिममा छ । गाउँ नजिकै बर्सेनी सानो ठूदो पहिरो जान थालेपछि डाँडो नै खस्ने खतरा बढ्दै गएको स्थानीयहरु बताउछन् ।

२०३८ सालमा बस्ति नै स्थानान्तरण हुने गरी गएको पहिरोको कारण अहिले पनि सो क्षेत्रका बस्तीहरु पहिरोको जोखिममा पर्दै आएको छ ।

८० वर्षिय जयबहादुर चितौरे थापा बाजेको पाला देखि नै हुप्सेकोट-५ मा बस्दै आउनु भएको हो । गाउँको शिरमा भिर छ । त्यही भिर कतिवेला खस्ने हो भन्ने सँधैभरिको पिर छ जय बहादुरलाई । पानी पर्‍यो कि त कतै बगाउने हो कि भन्ने चिन्ताले रातमा निन्द्रा नै पर्दैन ।

हुप्सेकोट गाउँपालिका–५ को राम्चे गाउँका करिब ३५ घरपरिवार वर्षौदेखि पहिरोको जोखिममा बसिरहेका छन् । स्थानीयका अनुसार राम्चे पहिरो २०३८ सालमा गएको थियो । जसको कारण त्यहाको काउले वस्ति नै विस्थापित भएको थियो ।

पहिरोकै कारण कच्ची सडक पनि भत्किराख्ने र जमिनमा ध्वजा फाट्ने गरेको छ । राम्चेबासी रातदिन त्रासमा बाच्नु परेको र बर्खामा मात्र हैन हिउँदमा समेत सुख्खा पहिरोले सताउने गरेको स्थानीयहरु बताउछन् ।

पहिरोको त्रासले केहिले गाउँ नै छाडेका छन् भने धेरैले आफ्नो जीवन जोखिममा राख्दै दैनिकी कटाईरहेका छन् । बाजे बराजुको पालादेखि सोही ठाउँमा बसोबास गर्दै आएका उनीहरु स्थानीय सरकारले सुरक्षित स्थानमा बस्ती सारिदिने आशामा अझै बसेका छन् ।

त्यसो त यहाँको बस्ती रुद्रपुरगढी धौवादीमा स्थानान्तरण गर्न गाउँपालिकाले योजना नबनाएको पनि होइन । २०७६ भदौमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बस्ती सार्न धौवादी एकीकृत नमूना बस्ती योजनाको शिलान्यास गर्नुभएको थियो । तर त्यो योजना ५ वर्ष हुदा पनि शुरु हुन सकेको छैन ।

राम्चेभिर हुप्सेकोट-५ राम्चे गाउँको शिरानमा पर्छ । केरुङ्गे खोलाको मुहानमा रहेको राम्चेको पहिरोले हुप्सेकोटको मात्र हैन कावासोती क्षेत्रमा पनि जोखिम देखिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.