प्रज्ञा प्रतिष्ठानले सुरु गर्‍यो राई भाषाको ‘खुवालुङ’ पत्रिका

खोटाङ- “सबै भाषा, सबै ज्ञान सबैको प्रज्ञा प्रतिष्ठान !” भन्ने नारालाई आत्मसात गर्दै आएको नेपाल प्रज्ञा प्रतिष्ठानले ‘खुवालुङ’ पत्रिका प्रकाशन सुरु गरेको छ । प्रतिष्ठानले राई जातिमा बोलिने भाषाहरुको साझा पत्रिका  खुवालुङ प्रकाशन सुरु गरेको हो ।

राई समुदायमा बोलिने २६ भन्दा बढी भाषालाई समेट्ने गरी खुवालुङ प्रकाशन सुरु गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले बताउनुभयो । यसअघि थारु भाषाको लवाङगी, मगर भाषाको मिक, भोजपुरी भाषाको मुहुवा, नेपाल भाषाको लगायतका पत्रिका प्रकाशन सुरु गरिसकेको प्रतिष्ठानले जनाएको छ ।

खुवालुङको पहिलो अंकमा बान्तावा, चाम्लिङ, दुमी, नाछिरिङ, कोयी, बायुङ, वाम्बुले, पुमा, खालिङ, दुङ्माली, जेरो, लोहोरुङ, छुलुङ, पिल्मो र साम्पाङ गरि १५ भाषाका लेख रचनाहरू प्रकाशित छन् । प्राज्ञ राजन मुकारुङ प्रधान सम्पादक रहेको खुवालुङ पत्रिकाका कार्यकारी सम्पादक तिलक चाम्लिङ रहनुभएको छ । सम्पादक मण्डलमा निराजन बतास, तेजमायाँ दुमी, कुम्भराज राई र दिवस लोहोरुङ रहनुभएको छ ।

कार्यकारी सम्पादक चाम्लिङका अनुसार खुवा भनेको चाम्लिङ राई भाषामा नदीको पानी र लुङ भनेको ढुङ्गा हुन्छ । यसको अर्थ पानीको ढुङ्गा हुन्छ । खुवालुङ किराती संस्कृतिको प्रतीक हो । भोटेकोसी, तामाकोसी, लिखु, दूधकोसी, अरुण, तमोर लगायतका नदीहरू मिसिएर बनेको सप्तकोसीको बीचमा विशाल सांस्कृतिक ढुङ्गा रहेको छ । उदयपुर, भोजपुर र धनकुटाको सङ्गमस्थलमा रहेको त्यही ढुङ्गालाई खुवालुङ भनिन्छ । किराती धामीहरू मुन्दुमी यात्रा गर्दा खुवालुङ पुग्छन् । यसबारे किराती समुदायमा थुप्रै मिथकहरू छन् । मुन्दुमी व्याख्या अनुसार खुवालुङ एउटा शक्तिढुङ्गा हो, जसलाई प्राचीन बसाइँसराइको क्रममा पहाड र तराईको भूभाग छुट्याउने सिमाना मानिन्छ । खुवालुङलाई थारू,धिमाल तथा राई, लिम्बू, सुनुवारका पुर्खा छुट्टिएको जलभूमि पनि मानिन्छ ।

प्रतिष्ठानको सामाजिक शाखा विभागका प्रमुख डा. कौशिला रिसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, लेखक तारालाल श्रेष्ठ, गुरुङ सुशान्त, नारायणी देवकोटा लगायतले शुभकामना दिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.