मुख्यमन्त्री शाहद्वारा पदबहाली

सुदूरपश्चिम –  सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पदबहाली गर्नुभएको छ । पदबहाली गर्दै उहाँले प्रदेशमा बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “बजेट शून्यताको अन्त्य गर्न सचिवहरुसँग छलफल गरेर राजस्व सङ्कलन र दैनिक खर्चको निकास छिट्टै दिन्छौँ ।” आर्थिक वर्ष २०८१र८२का लागि प्रदेशसभामा प्रस्तुत बजेटमाथि छलफल गरेर पारित गर्नमा भएको ढिलाइ भएपछि प्रदेशमा यही साउन १ गतेबाट बजेट शून्यताको अवस्था छ ।

मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहतका निकायमा वित्तीय अनुशासन, सुशासन प्रबर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि अध्ययन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गर्नुभएको छ । कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्ने गरी जिम्मेवारी दिइएको छ ।

यसैगरी प्रदेशका सरकारी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने निर्णय पनि उहाँले गर्नुभएको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निःशुल्क ‘ब्लड बैंक’ सञ्चालन र व्यवस्थापनका लागि अध्ययन गरी सोको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्न सामाजिक विकास मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ ।

उहाँले प्रदेशका नागरिकको विपद् जोखिम दुर्घटना बीमा गर्ने निर्णय गर्नुभएको जनाइएको छ । कार्यक्रम सञ्चलनका लागि अध्ययन गरी आवश्यक निर्णय गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं नवनियुक्त मुख्यमन्त्री शाहको सिफारिसमा नेपालको संविधानको धारा १६८को उपधारा (९)बमोजिम प्रदेश प्रमुख नजिर मियाँले आजै प्रदेशको मन्त्रिपरिषद् गठन र कार्यविभाजन गर्नुभएको छ ।

मन्त्रिपरिषद्को गठन र कार्यविभाजनअनुसार बहादुरसिंह थापाले आर्थिक मामिला, सुरेन्द्रबहादुर पालले भौतिक पूर्वाधार विकास र मेघराज खड्काले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउनुभएको छ ।

यस्तै लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन, वन, तथा वातावारण मन्त्री, हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रकाश बहादुर बम आर्थिक मामिला, सरस्वती खड्का सामाजिक विकास र निर्मला साउद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

आर्थिक मामिला मन्त्री थापा र समाजिक विकास मन्त्री खड्का, राज्यमन्त्रीहरु प्रकाशबहादुर बम र सरस्वती खड्का कांग्रेसका सांसद हुनुहुन्छ । भौतिक पूर्वाधार विकास मन्त्री पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री सार्की एमालेका सांसद हुनुहुन्छ ।

उद्योग पर्यटन, वन तथा वातावरणमा नियुक्त चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुनुहुन्छ भने राज्यमन्त्रीमा नियुक्त निर्मला साउद एमालेकी सांसद हुनुहुन्छ ।

प्रदेश प्रमुख मियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीलाई छुट्टाछुट्टै रुपमा पद तथा गोपनीयताको सपथ गराउनु भयो । सोही समारोहमा मुख्यमन्त्री शाहले नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको सपथ गराउनुभयो ।

नेपालको संविधानको धारा १६८को उपधारा ९२० बमोजिम आइतबार नेकपा (एमाले) सहितका दलको समर्थनमा शाह प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेपाल कम्युनिष्ट पार्टी९एमाले०का ११, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सभामुख बाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का चार, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र एकजना स्वतन्त्र सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.