कर्णालीको कृषि कर्म महिलाको काँधमा

सुर्खेत- कर्णालीका महिला व्यवसायिक रणनीति बनाएर उच्च मूल्य बालीको खेतीमार्फत जीविकोपार्जन गर्न संगठित भएका छन् ।

विभिन्न संघसंस्था तथा सरकारको सहयोगमा गाउँटोलमै विभिन्न कृषि समूह गठन गरेर महिलाले आधुनिक तरकारीसँगै उच्च मूल्य बालीको खेती गर्न थालेका हुन् । पुरुषहरु विदेशिने क्रम बढेसँगै प्रदेश अधिकांश जिल्लामा कृषि कार्यको नेतृत्व महिलाको काँधमा छ ।

महिलालाई व्यवसायिक खेतीमा आबद्ध गराएर आर्थिकरुपमा सबल बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत संघीय सरकारले ‘कृषि क्षेत्र विकास कार्यक्रम’ मार्फत आर्थिक तथा प्राविधिक सहयोग गरिरहेको छ ।

समूहमा आबद्ध हुँदा आधुनिक खेतीको उपाय र अन्य भौतिक तथा प्राविधिक सहयोग मिल्ने भएकाले पनि आफूहरु संगठित बनेको कृषक महिलाहरु बताउनु हुन्छ ।

‘कृषि क्षेत्र विकास कार्यक्रम’ समन्वय कार्यालय सुर्खेतका सञ्चार अधिकृत रत्नबहादुर बुढाले तरकारी खेतीका लागि स्थानीयलाई टनेल, उन्नत जातका बीउ, सिँचाइ कुलो निर्माण, कृषि औजार, जैविक विषादी र वित्तीय साक्षरता कक्षाका लागि सहयोग गरिएको बताउनु भयो ।

उहाँका अनुसार व्यावसायिक खेतीका लागि आर्थिक तथा प्राविधिक सहयोगसँगै बजारीकरणमा पनि ‘कृषि क्षेत्र विकास कार्यक्रम’ मार्फत सहयोग गरिएको छ । महिलालाई समूहमा आबद्ध गराएर यस्तो सहयोग उपलब्ध गराइन्छ ।

कृषि क्षेत्र विकास कार्यक्रमअन्तर्गत जुम्लामा मात्र तरकारी खेतीमा ७० वटा समूह छन् । ती समूहमा १ हजार ५ सय ७६ जना महिला आबद्ध छन् । यस्तै कर्णाली प्रदेशभर तरकारी खेतीमा मात्र जोडिएका महिला समूहको संख्या ३ सय ४० रहेको छ ।

जसअन्तर्गत ९ हजार १ सय १४ जना महिला आबद्ध भएर व्यावसायिक तरकारी खेती गरिरहेका छन् । सञ्चार अधिकृत बुढाका अनुसार प्रदेशभर तरकारी खेतीका लागि कार्यक्रममार्फत हालसम्म १७ करोड, ७६ लाख, ४० हजार ८ सय १४ रुपैयाँ खर्च भइसकेको छ । स्थानीयले समेत यही हाराहारीमा स्वलगानी गरेको उहाँको भनाइ छ ।

कृषि क्षेत्र विकास कार्यक्रमका लैंगिक समानता र सामाजिक समावेशीकरण अधिकृत रुद्र आचार्यले महिला व्यावसायिक खेतीबाट आत्मनिर्भर हुन थालेपछि पारिवारिक हिंसाका घटनामा समेत कमी आएको बताउनु भयो ।

समग्र कृषि कार्य र पारिवारिक अर्थतन्त्रको नेतृत्व महिलाको हातमा पुगेको भन्दै उहाँले यसबाट महिला सशक्तीकरणमा समेत टेवा पुगेको जनाउनु भयो । आफूहरु आर्थिकरुपमा सवल हुन थालेपछि यहाँका महिलाले विदेशमा मजदुरीका लागि पुगेका पुरुषलाई समेत पछिल्लो समय गाउँमै फिर्ता बोलाउने अवस्था बनेको उहाँको भनाइ छ ।

आर्थिक अवस्था सवल हुन थालेपछि कतिपय पारिवारिक मतभेद र बेमेलहरु पनि अन्त्य भएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.