नेपालको आकाश सुरक्षित देखिएन, अब समाधान निकाल्छौँ- सञ्चार मन्त्री
काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधान निकाल्न सरकारले योजनाबद्ध रुपमा काम गर्ने बताउनुभयो ।
उहाँले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गर्नुभयो ।
सञ्चार मन्त्री गुरुङले अहिलेसम्म दुर्घटनाको छानबिन र जाँचबुझ समिति बनाउनेमा सरकार सीमित भएकोमा अब सरकारले कारणसहित समाधान निकाल्ने गरी छलफल गरिरहेको जानकारी दिनु भयो ।
सरकारको नीति, व्यवस्थापन वा प्रविधि वा आकाश केमा समस्या छ पत्ता लगाएर समाधान निकाल्ने गरी काम गरिने उहाँले बताउनु भयो ।
प्रतिक्रिया राख्नुहोस्