काँचो स्याउ संकलन गर्ने व्यापारीका गोदाममा सिल
जुम्ला- जिल्लाको तिला गाउँपालिकामा नपाकेको स्याउ संकलन गर्ने व्यापारीका गोदाम सिल गरिएको छ । गाउँपालिकाको निर्णय र निर्देशन विपरीत लुकिछिपी स्याउ संकलन गरेका व्यापारीका गोदाम सिल गरिएको हो ।
यसअघि गाउँपालिकाले पालिकाका वडामा काँचो स्याउ नटिप्न निर्देशन जारी गरेको थियो । तिला गाउँपालिकाले भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न र निर्यातको लागि अनिवार्य सिफारिस लिनुपर्ने जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले लुकिछिपी स्याउ निर्यात भइरहेको पाइएपपछि ६ वटा स्याउ भण्डार गरिएका गोदाम सिल गरिएको बताउनुभयो । उहाँका अनुसार अनुगमनको क्रममा काँचो स्याउ टिपेको पाइएपछि गोदाम सिल गरिएको हो ।
`पालिकाको अगुवाइमा रारालिही र कटिनामा अनुगमन गरिएको हो । ‘मनोमानी रूपमा स्याउ संकलन गरेको पाइएपछि सिल गरेका छौँ’, उहाँले भन्नुभयो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालचन्द्र बुढाले तिलाका विभिन्न वडा तथा बस्तीहरूमा पालिकाको निर्णय विपरीत स्याउ संकलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको बताउनुभयो ।
उहाँका अनुसार अब सबै वडामा कडाइ गरिनेछ । तिलामा भदौ ५ गतेसम्म सिफारिस विना कसैले पनि स्याउ निर्यात गर्न नपाउने उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्