बागमती प्रदेशका ७६ हजार गाईभैंसीमा लम्पी स्किन विरुद्ध खोप लगाइँदै

हेटौडा – बागमती प्रदेश सरकारले भोलीदेखि प्रदेशका १३ जिल्लामा गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।

प्रदेशको  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लम्पी स्किन रोगको संक्रमण हुन नदिन आजदेखि साउन ३१ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको हो । यस अभियान अन्तर्गत प्रदेशका ७६ हजार २ सय ७५ गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने तयारी रहेको बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

स्थानीय तहको समन्वयमा पशु सेवा कार्यालय मार्फत खोप अभियान सञ्चालन हुने मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले जानकारी दिनुभयो । प्रदेशमा लम्पी स्किन रोग देखा परेपनि महामारीको रुप भने नलिएको उहाँले बताउनुभयो ।

यो रोग नियन्त्रणका लागि प्रभावकारी उपाय नै खोप भएकाले खोप अभियान महत्वपूर्ण कदम हुने कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले बताउनुभयो ।

लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन निर्णय गर्दै मन्त्रालयको कार्यभार सम्हाल्नुभएका मन्त्री श्रेष्ठले रोग नियन्त्रण भन्दा पनि निर्मुल पार्ने उद्देश्यले खोप दिन लागिएको दाबी गर्नुभयो ।

अभियान पश्चात् पनि आवश्यकता अनुसार खोप कार्यक्रम निरन्तर रहने मन्त्रालयले जनाएको छ । लम्पी स्किन रोग नियन्त्रणका लागि बागमती प्रदेश सरकारले यस आर्थिक वर्षमा ७३ लाख बजेट विनियोजन गरेको छ ।

नेपालमा लम्पी स्किन रोगका कारण ७५ अर्ब ४८ करोडको आर्थिक क्षती भएको तथ्यांक छ । लम्पी स्किन रोगको खास उपचार नभएकाले यसको नियन्त्रणको लागि सबैभन्दा प्रभावकारी पद्धति खोप नै रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.