सडक कालोपत्रे भएपछि स्थानीय हर्षित

नवलपुर- पूर्वी नवलपरासीको देवचुली- मुण्डे-किर्तिपुर-बन्दिपुर सडकखण्ड कालोपत्रे भएसँगै अहिले त्यहाँका स्थानीयलाई सहज भएको छ ।

जिल्लाको अग्लो डाँडा देवचुली र बरचुलीको काखमा पर्ने कीर्तिपुर, बन्दिपुर, मौला थुम्कीसहितका ६ गाउँका बासिन्दालाई प्रदेश सरकारको लगानीमा निर्माण भएको बाटोले सुविधा थपेको हो ।

पूर्व-पश्चिम राजमार्गको दलदलेबाट ११ किलोमिटरको दूरीमा रहेको गाउँमा केही वर्ष अघिसम्म बजारबाट नजिकै भए पनि सुविधायुक्‍त बाटो नपुग्दा विकट थियो । सडक निर्माण पूर्व कीर्तिपुरदेखि बन्दिपुरसम्म सडकको ट्रयाक नै खोलिएको थिएन । अहिले करिब दुईसय मिटर क्षेत्रमा नयाँ ट्रयाक खोली दुई गाउँलाई जोडिएको छ ।

सुविधा नभएर गाउँ छाडी बजार झर्नेहरूको सङ्ख्यामा बढ्दै गएको र गाउँ नै रित्तिने अवस्थामा आएको देवचुली वडा –६, का वडा अध्यक्ष मीनबहादुर सोतीले बताउनुभयो । पहिले बाटो नभएकै कारण सुविधा खोज्दै स्थानीय बजार झर्ने गरेको भए पनि अहिले सडकको सुविधा क्रमशः गाउँमा आएकाले गाउँमै आय आर्जनलाई जोड्ने क्रियाकलाप गर्ने योजना रहेको सोतीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक योजनाबाट गाउँमा कालोपत्र बाटो पुग्दा खुसी लागेको देवचुली नगरपालिका-६ कीर्तिपुरका दिलबहादुर सोमैले बताएका छन । कीर्तिपुर हुँदै बन्दिपुर आउने बाटो कालोपत्रे भएपछि व्यवसाय राम्रो हुँदै र शहर धाउनु पर्ने बाध्यता हट्दै गएको स्थानीय होमबहादुर दिसुवाले बताउनुभयो ।

केही वर्ष अघिसम्म बाटो कालोपत्र नहुँदा तीन चार घण्टा लाएर हिँड्नुपर्ने अवस्था थियो । अझ बर्खा समयमा त झन सास्ती भोग्नु परेको थियो अहिले आँगन छेउमा कालोपत्र सडक बनेको छ जसले सडक निर्माण भएपछि यहाँ कृषिजन्य वस्तु, शिक्षा, राष्ट्रिय प्रसारण लाइनजस्ता विकासका पूर्वाधारले छोइरहेको छ । अहिले कीर्तिपुर, बन्दिपुर, हर्कपुर मौला थुम्कीलगायत स्थानमा उत्पादन भएका विभिन्न कृषिजन्य वस्तु निर्यातमा सहजता थपिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले गण्डकी प्रदेश सरकारको योजनाअनुसार आफ्नो पहिलो कार्यकालमा एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत देवचुलीको मुण्डेदेखि मौला थुम्कीसम्म ११ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको बताउनुभयो । यस योजनाले देवचुली –५, र ६ नम्बर वडाका गाउँलाई सुविधा भएको गाहाले बताउनुभयो ।

भौतिक पूर्वाधार विकास कार्यालय नवलपुरले वि.स. २०७६ मा २८ करोड २३ लाखको लागतमा रायमाझी कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का पारी कामअघि बढाएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.