आलु खेतीमा आत्मनिर्भर बन्दै म्याग्दी

म्याग्दी- गएको आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दीमा ३१ हजार ४ सयभन्दा बढी मेट्रिक टन आलु उत्पादन भएको छ । 

एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको विभिन्न स्थानमा लगाइएको आलुबाट कुल ३१ हजार ४ सय ५० मेट्रिक टन आलु उत्पादन गरिएको हो ।

जिल्लाभर कुल १७ सय हेक्टर क्षेत्रफलको जमिनबाट गतवर्ष ३१ हजार ४ सय ५० मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । प्रति हेक्टर १८ दशमलव ५ मेट्रिक टन आलु उत्पादन भएको छ ।

उत्पादन भएको आलु मध्ये १ हजार ६ सय ८३ दशमलव ९३ मेट्रिक टन खायन आलु प्रवर्द्धन कार्यक्रममार्फत उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गङ्गा लामिछानेले जानकारी दिनुभयो ।

खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत ९१ दशमलव ४ हेक्टर क्षेत्रफलको जमिनमा सो परिमाणको आलु लगाइएको थियो । यस कार्यक्रमबाट ४४ दशमलव ५ हेक्टर क्षेत्रफलको जमिनमा हिउँदे आलु लगाइएकोमा ८ सय २६ दशमलव ३७ मेट्रिक टन आलु उत्पादन भएको कृषि प्रसार अधिकृत लामिछानेले बताउनुभयो ।

हिउँदमा प्रति हेक्टर १८ दशमलव ५७ मेट्रिक टन आलु उत्पादन भएको थियो वर्षे आलु ४४ दशमलव १५ हेक्टरमा लगाइएको थियो ।

यसैगरी वर्षे आलुतर्फ ८ सय १ दशमलव ३२ मेट्रिक आलु उत्पादन भएकोमा प्रति हेक्टर १८ दशमलव १५ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो । त्यस्तै गतवर्ष बिउ आलुतर्फ २ दशमलव ७५ हेक्टर क्षेत्रफलको जमिनमा लगाइएको थियो । यसबाट ५६ दशमलव २४ मेट्रिक टन आलु उत्पादन भएकोमा २० दशमलव ४५ प्रति मेट्रिक टन उत्पादकत्व रहेको थियो । बाँकी आलु भने कार्यक्रमबाहेक अन्य क्षेत्रमा स्थानीय किसानहरूले लगाएका थिए ।

म्याग्दीमा उत्पादित आलु किसानले प्रतिकेजी ३० रुपैयाँको दरले हिउँदे र ३५ रुपैयाँको दरले वर्षे आलु बिक्री तथा वितरण गरेका छन् । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा कृषि ज्ञान केन्द्रमार्फत कृषक समूह र कृषि सहकारीबाट जिल्लामा आलु खेती विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो ।

जिल्लामा उत्पादित आलु म्याग्दीसहित जिल्लाभन्दा बाहिर पनि निर्यात भएको छ ।

प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्रमार्फत किसानहरूलाई आलु खेतीका लागि सिँचाइ गर्ने पाइप, आलुको बिउबिजन, विषादी, मल लगायत सहयोग उपलब्ध गराइएको थियो । यसका साथै ज्ञान केन्द्रबाट यान्त्रिकरणतर्फ (मिनिटेलर हलो) तथा आलुको बजारीकरणमा समेत सहयोग गरिएको केन्द्र प्रमुख बाँस्तोलाले बताउनुभयो ।

गतवर्ष हिउँदे आलु बेनी नगरपालिकाको २, ३, ४, ५ र १० नम्बर वडाअन्तर्गत ज्यामरुककोटको खबरा, भकिम्ली, सिङ्गा, पुलाचौरको मरुवा र पात्ले खेतमा लगाइएको थियो । त्यस्तै धवलागिरि गाउँपालिका मुदीको खाम्ला, खिबाङ र ५ नम्बर वडा मराङमा पनि हिउँदे आलु लगाइएको थियो ।

बागलुङको निसीखोला, ढोरपाटन र लाम्मेलाबाट वर्षे आलुको बिऊ खरिद गरी किसानहरूलाई वितरण गरिएको थियो । वर्षे आलुतर्फ बेनी नगरपालिकाको ३ नम्बर वडा भकिम्लीको भकिम्ली, मुसुङडोले, भुकभुके, स्वर्गाश्रम, रघुगंगा गाउँपालिका-४ दग्नामको दर्मिजा, ६ पाखापानीको ठाडाखानी, अन्नपूर्ण-६ घारस्थित खिबाङ, मंगला–२ को हिदी, धवलागिरिको ४ मुदी र ७ नम्बर वडा ताकममा आलु लगाइएको थियो ।

पछिल्लो समय म्याग्दी जिल्ला आलु खेतीमा आत्मनिर्भर बन्दै जान थालेको छ । कृषि ज्ञान केन्द्र, स्थानीय पालिका र विभिन्न संघसंस्थाको सहयोग पाएपछि जिल्लाका किसानहरू व्यावसायिक आलु खेतीतर्फ सक्रिय भएर लागेका छन् ।

आलुलाई तरकारीको राजा पनि भनेर चिनिन्छ । आलुलाई तरकारीसँगै उसिनेर, अचार बनाएर, फिङ्गर चिप्स, फ्राईसहित विभिन्न परिकारका रुप दिएर प्रयोग गरिँदै आएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.