गणित शिक्षकको अभाव: पटक-पटक विज्ञापन गर्दापनि परेन दरखास्त

पश्चिम नवलपरासी-पश्चिम नवलपरासीको रामग्राम १८ पण्डितपुरमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा सात पटक विज्ञापन आह्वान गर्दा समेत गणित शिक्षक पाईएको छैन् ।  माध्यमिक तह तृतिय श्रेणीमा गणित विषयको नगर अनुदान कोटामा गणित विषयमा स्नातक वा सो सरह उत्तिर्ण नेपाली नागरिक बाट दरखास्त आह्वान गरेपनि हाल सम्म कोहि पनि दरखास्त पेश गर्न आएका छैनन् ।

नगर अनुदान कोटामा मावि तहमा गणित विषय पढाईरहेका हरिशंकर चौधरीले प्रावि तहमा स्थाईमा नाम निकालेपछि उनि अन्यत्रै सरुवा भएका कारण गत वर्ष देखि गणित शिक्षक बिनानै विद्यालयले पठनपाठन गराईरहेको छ । १७ जना शिक्षक शिक्षिका रहेको उक्त विद्यालयमा मावि तहमा तिन जना शिक्षक मात्र छन् ।

मावि स्थाईमा प्रधानअध्यापक मात्र छन् भने संघिय अनुदान कोटाका दुई जना अग्रेजी र विज्ञान शिक्षक रहेको विद्यालयले जनाएको छ । सातौँ पटक साउन २१ गते एक हप्ता समय दिएर विज्ञापन आह्वान गरिएपनि हाल सम्म कसैले पनि दरखास्त पेश नगरेको विद्यालयका प्रधानअध्यापक ऋषिराम ढकालले बताउनुभयो । ‘विद्यालयमा गणित शिक्षक नभएपनि कक्षा रोकिएको छैन्, वैकल्पिक व्यवस्था गरेर अध्यापन भईरहेको छ, तर मावि तहकै शिक्षक नियुक्त गर्न पाए थप प्रभावकारी हुने थियो, प्रधानअध्यापक ढकालले भन्नुभयो । ’

हाल विद्यालयमा प्रावि तहमा स्थाई शिक्षक रिमा चापागाईले कक्षा नौ र दशमा गणित अध्यापन गराउदै आउनुभएको छ । उहाँ प्रा.वि तहको भएपनि शैक्षिक योग्यताका आधारमा उहाँलाई कक्षा लिन दिएको प्रधानअध्यापक ढकालले बताउनुभयो । दरखास्त नपरेपनि विगतमा एक दुई जनाले फोन मार्फत सोधपुछ गर्ने तर तलब स्केल थाहा पाएपछि नआउने समस्या देखिएको विद्यालयले जनाएको छ । नगरपालिकाले गत वर्ष चार हजार थप गरी नगर अनुदान कोटा (करार) को तलब २६ हजार तय गरेको छ ।

रामग्राम नगरपालिकाका शिक्षा अधिकृत सुन्दर खनालले शिक्षक अभाव देशभरको समस्या भएको बताउदै दरबन्दीनै नहुदा समस्या हुदै आएको बताउनुभयो । विगतमा विद्यालय स्थापना गर्ने क्रममा विद्यालय संञ्चालनको अनुमतीलाई मात्र जोड दिदा यसतो समस्या देखिएको बताउदै दरबन्दी नभएकै कारण स्थानिय तह र संघिय सरकारले अनुदान कोटा सृजना गर्नुपरेको बताउनुभयो ।

रामग्रामका अन्य विद्यालयमा भने यस किसिमको समस्या सृजना नभएपनि पण्डितपुरमा पटक पटक विज्ञापन प्रकाशन गर्दा समेत कोहि नआएको खनालको भनाई छ । पछिल्लो समय गणित विषयमा अनुभवि शिक्षक पाउनै गाह्रो भएको विद्यालयहरुको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.