एनटिभीका समाचार प्रमुख क्याम्पा राईलाई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान

काठमाडौँ- नेपाल टेलिभिजनका समाचार च्यानल प्रमुख पुष्पहरि क्याम्पा राई फोनिज राष्ट्रिय पत्रकारिता सम्मान तथा पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

लामो समयदेखि टेलिभिजन पत्रकारितामार्फत पुर्‍याउनुभएको योगदानको कदर गर्दै नेपाल आदिवासी जनजाति पत्रका महासंघ (फोनिज) ले आफ्नो स्थापना दिवसको अवसर पारेर क्याम्पा राईलाई सम्मान र पुरस्कृत गरेको हो ।

विक्रम सम्बत् २०२७ सालमा ओखलढुंगाको उँबूमा जन्मनु भएका क्याम्पा राईले विक्रम सम्बत् २०४४ सालदेखि युगान्तर साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो । क्याम्पा राई विक्रम सम्बत् २०४६ कार्तिकबाट नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्छ ।

क्याम्पा राई गोविन्द वियोगी पत्रकारिता पुरस्कार, सिद्धिचरण पत्रकारिता पुरस्कार लगायतका पुरस्कारहरुबाट पुरस्कृत भइसक्नुभएको छ ।

सामाजिक विषयबस्तुमा थुप्रै रिपोर्टिङ्ग गर्नुभएका पुष्पहरिले २०५५/५६ सालमा नेपालका लोपोन्मुख ‘बनकरिया’ र ‘हायू’ जातिको बारेमा समाचार रिपोर्टिङ्ग गर्नुभएको थियो ।

नेपाल टेलिभिजनको प्रादेशिक च्यानल इटहरिको प्रमुख रहँदा क्याम्पा राईले  कोशी प्रदेशमा बोलिने  २६ भाषालाई केन्द्रमा राखेर ‘समावेशी समाज’ कार्यक्रम र राई भाषाको ‘सुप्तुलुङ सेवा’ कार्यक्रम निर्माण तथा प्रसारण गर्नुभएको थियो ।

यसैगरी,  पत्रकार विजयरत्न तुलाधरलाई फोनिज राष्ट्रिय पत्रकारिता र थारु साप्ताहिक पत्रिकाका लौव अग्रासनलाई फोनिज मातृभाषा पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरिएको छ  ।

यसैगरी पुरस्कृत हुनेमा सटेन्द्र जबेगु, विष्णु तामाङ र खिमा गुरुङ पनि हुनुहुन्छ ।

उहाँहरुलाई संचार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङले सम्मान र पुरस्कार प्रदान गर्नुभएको हो ।

कार्यक्रममा मन्त्री गुरुङले राष्ट्रिय हित र स्वाभिमानका लागि सरकारले आफ्नै भू उपग्रह स्थापना गर्ने तयारी गरेको बताउनुभयो । उहाँले संचार मन्त्रालय आबद्ध सवै संस्थाहरुको ऐनहरु समयानुकूल हुनेगरी १ वर्षभित्र नयाँ बनाउने र संशोधन गर्ने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री गुरुङले राजनीतिक दलहरुको सहमतिमा जारी भएको नेपालको संविधानबाट आदिवासी जनजाती लगायतका लागि प्राप्त उपलब्धि चानचुने नभएको बताउँदै त्यसलाई ठिक ढंगले प्रयोग गर्न सक्नुपर्छ भन्नुभयो ।

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजका अध्यक्ष गजुरधन राईले फोनिजले देशकै बहुलता र विविधतालाई प्रतिबिम्बित  गर्ने समावेशी आम सञ्चार नीतिका लागि वकालत गरेको बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाती आयोगका अध्यक्ष रामबहादुर थापा मगर, आदिवासी जनजाती महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपालका आदिवासी जनजातीको मुद्धमा पत्रकारिताले निर्वाह गर्नु पर्ने भूमिका र फोनिजको योगदानबारे चर्चा गर्नुभयो ।

तत्कालिन अनिजका संस्थापक अध्यक्ष चन्द्र सिंह कुलुङ, पूर्व अध्यक्षहरु खिम घले र डण्ड गुरुङ तथा नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेण्टर र समाजवादी प्रेस संगठनका प्रतिनिधिहरुले फोनिजले राजनीतिक र सामाजिक परिवर्तनका साथै ब्यवशायिक पत्रकारिताकै प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आज विविध कार्यक्रम गरी स्थापपनाको रजत बर्ष मनाएको हो ।

फोनिजको स्थापना नेपाल आदिवासी जनजाती पत्रकार संघ अनिजकारुपमा २०५६ साल साउन २७ गते भएको थियो ।

४ हजार बढी संगठित सदस्य रहेको फोनिजको ७ प्रदेश समितिका साथै देशका ६२ जिल्ला र प्रवासमा समेत शाखा रहेको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.