सरुवा भएकी शिक्षिकालाई वडाध्यक्षले हाजिर गर्न रोकेपछि…..

बारा- बाराको जीतपुर सिमरा उपमहानगरको शिक्षा समितिले सरुवा गरेको शिक्षकलाई वडाध्यक्षले हाजिर गर्न नदिएपछि नगरप्रमुख र वडाध्यक्षबिच हात हालाहालको अवस्थाले बिद्यालयमा तनावको स्थिति बनेको छ ।

वडा नं. १ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा वडाअध्यक्षले सरुवा भई हाजिर हुँदै आएकी शिक्षिका सिता अधिकारीलाई हाजिर गर्न रोकेपछि विद्यालयमा तनावको स्थिति बनेको हो ।

उपमहानगरको नगर शिक्षा समितिको गत जेठ १७ गते निर्णय अनुसार सरुवा भएकी शिक्षिकालाई वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले हाजिर गर्न नदिएका हुन् । हाजिर हुन नपाएको खबर पाएसँगै केही दिनअघि आँफैले हाजिर गराएकी शिक्षिकालाई हाजिर हुन नदिएर रजिष्ट्रर तानातान गरेपछि जनप्रतिनिधिबीच हातपातको अवस्था सिर्जना भएको हो ।

नगरप्रमुख संयोजक रहेको शिक्षा समितिले ९५ शिक्षकको दरबन्दी मिलानको निर्णय गरेको थियो । अधिकांश शिक्षक सरुवा निर्णय कार्यान्वय हुँदा माध्यमिक तहमा नेपाली विषयका २ जना शिक्षकलाई हाजिर गराउने विषय भने लामो समयदेखि कार्यन्वयन हुन सकेको छैन ।

उपमहानगरले नेपाली विषयका शिक्षक मेघराज बराललाई सिमराबाट जीतपुर र अधिकारीलाई जीतपुरबाट सिमरामा सरुवा गरेको हो । वडाध्यक्ष श्रेष्ठले हाजिर गर्न रोक लगाएपछि सरुवा पत्र बुझेर लामो समयदेखि सिमरा माविमा धाईरहेकी शिक्षिका अधिकारी दिनभर कक्षा कोठा बाहिर बसेर समय कटाउँदै आउनुभएको छ ।

यता नेरा मावि सिमराबाट राजेश्वर गिरी, फकिरा गिरी मावि जितपुरमा सरुवा भएका शिक्षक मेघराज बराललाई वडाध्यक्षको दवावमा विद्यालयले रमाना नदिंदा माध्यमिक तहको नेपाली विषय पठनपाठन ठप्प छ । नेरा मावि सिमराका प्रधानाध्यापक शंकर आर्चायले शिक्षिका अधिकारीलाई हाजिर गराउन खोज्दा वडाध्यक्षले रोक लगाएको बताउनुभएको छ ।

‘नगर शिक्षा समितिले गरेको शिक्षक सरुवाको निर्णय कार्यनवयन नगरेर हाजिर रोक्ने अधिकार वडाध्यक्षलाई छैन् तर विद्यालयको चेकमा वडाध्यक्षको हस्ताक्षर हुने भएकाले हामी विद्यालय प्रशासन चेपुवामा परेका छौ’ प्रधानाध्यापक आचार्यले भन्नुभयो- ‘वडाध्यक्षले रोक भनेपछि हामी मान्नुपर्ने बाध्यात्मक अवस्था छ ।’

बिद्यालयमा नगरप्रहरीसहित पुगेका नगरप्रमुख राजन पौडेलले भने वडाध्यक्षको दवावमा नपरी कानुनले दिएको अधिकारलाई टेकेर काम गर्न विद्यालय प्रअ आचार्यलाई निर्देशन दिनुभएको छ ।

‘यसरी शिक्षा समितिले गरेको निर्णयलाई मजाक बनाएर २ वटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरुले दायरा नाघेर शैक्षिक संस्थामा दादागिरी गरेर बसिरहेको उहाँको भनाई छ । नगरप्रमुख पौडेलले भने ‘नगरपालिकाले विधिसम्वद्ध ढंगले गरेका निर्णय कार्यन्वयन गर्न कोही वडाध्यक्षसँग डराउनु पर्दैन्, मैले तपाईहरुलाई संरक्षण गर्छु’ ।

जीतपुर सिमरा वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले रमाना नलिई बिद्यालयमा हाजिर गराएकाले हाजिर गर्न रोकेको बताउनु भएको छ । उहाँले शिक्षा समितिले गलत निर्णय गरेका कारण यस्तो समस्या आएको बताउँदै छ महिना पनि नपुगेका शिक्षकलाई सरुवा गर्दा बिद्यालयमा राम्रो सन्देश नजाने भएकोले आफुले हाजिर गर्न नदिने बताउनु भएको छ ।

नगर शिक्षा समितिले स्थानिय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को उपदफा २ अनुसार सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलान सम्वन्धि व्यवस्था रहेको, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट शिक्षक दरबन्दी कार्यविधि २०७६ र उपमहानगरको शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ बमोजिम शिक्षक सरुवा गरिएको निर्णयमा उल्लेख छ ।

शिक्षिका अधिकारीले विद्यालयमा हाजिर गर्न खोज्दा वडाध्यक्षले रजिष्ट्रर खोसेर आफुमाथि दुर्वव्यवहार गरेको गुनासो गर्नुभएको छ । नगरप्रमुख र वडाध्यक्षको जुधाईका कारण आफू चेपुवामा परेको र समग्र शिक्षकहरुको मनोबल कमजोर बनाउने काम भएको उहाँको भनाइ छ ।

नेपाल शिक्षक संघ जीतपुर सिमराका अध्यक्ष जयप्रकाश रायले अधिकारीलाई हाजिर गर्न रोक लगाए शिक्षकहरुले कठोर कदम उठाउन आफुहरु बाध्य हुने बताउनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.