बङ्गलादेशको अन्तरिम सरकारलाई समावेशी हुन राष्ट्रसङ्घका प्रमुखको आग्रह

न्युयोर्क-  संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न आग्रह गर्नुभएको हो ।

“महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बङ्गलादेशमा शान्ति पुनस्र्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गर्नुभएको छ,” महासचिवका उप–प्रवक्ता फरहान हकले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“उहाँले महिला, युवा, अल्पसङ्ख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशीताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गर्नुभयो ।”

बढ्दो विरोधका बीच आवामी लिगकी नेतृ शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बङ्गलादेशले हाल अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ ।

मुख्यतया सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो ।

देशमा चलिरहेको हिंसाको क्रममा बेपत्ता भएका परिवारका सदस्यहरूको पोस्टर लिएर विरोध प्रदर्शन गरिरहेका अल्पसङ्ख्यक हिन्दू समुदायका सदस्य र बङ्गलादेशी सेनाबीच मङ्गलबार झडप भएको थियो ।

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले मङ्गलबार ढाकाको ऐतिहासिक ढाकेश्वरी मन्दिरको भ्रमण गर्दै अल्पसङ्ख्यकहरूलाई देशमा सुरक्षा कायम गर्ने आश्वासन दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.