बागमती प्रदेश प्रहरी कार्यालयको भवन उद्घाटन

मकवानपुर – बागमती प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ । प्रहरी प्रधान कार्यालय र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा हेटौँडा उपमहानगरपालिका वडानम्बर ११ मा निर्माण गरिएको साढे ५ तले प्रशासनिक भवनको मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गर्नुभएको हो । भवन निर्माणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ करोड तीन लाख रुपैयाँ र प्रहरी प्रधान कार्यालयले १७ करोड ६८ लाख गरी कुल २० करोड ५४ लाख रुपैयाँ उपलब्ध गराएको थियो नयाँ प्रशासनिक भवनमा एकसय ११ वटा कोठा छन् । संघीयसरकार अन्तर्गत रहेको बागमती प्रदेशप्रहरी कार्यालय मातहतको भवन निर्माणका लागि प्रदेशसरकार ले ३ अर्ब ४७ करोडरुपैयाँ लगानी गरिसकेको छ । ७१ वटा प्रहरी कार्यालय भवन निर्माणका लागि बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त बजेट उपलब्ध गराएको हो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री लामाले प्रहरी प्रशासनबाटै जनताले राज्यको प्रत्यक्ष अनुभुति गर्ने बताउनुभयो । प्रहरीले नागरिकसंग गर्ने व्यवहारबाटै राज्यतर्फ नागरिकको धारणा तय हुने उहाँको भनाई छ । मुख्यमन्त्री लामाले जनतालाई राज्यबाट दिन सकिने पहिलो सेवा नै प्रहरी सेवा भएकोले प्रहरी संगठन सेवा प्रवाहमा संवदेनशील बन्नुपर्ने बताउनुभयो । नवनिर्मित भवनबाट प्रदेशभर शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई थप सहज हुने मुख्यमन्त्री लामाको विश्वास छ । मुख्यमन्त्री लामाले बागमती प्रदेश प्रहरीलाई व्यवस्थित बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानले संविधानमा व्यवस्था भए अनुरुपको अधिकारको प्रत्यायोजन अझै हुन नसकेको बताउनुभयो । संघीयताको प्रभावकारी कार्यान्वयनको लागि प्रहरी समायोजन हुनुपर्ने उहाँको भनाई छ । मन्त्री लामिछानेले प्रदेश प्रहरीको बारेमा रहेको द्विविधिलाई हटाउन राजनीतिक नेतृत्वहरु जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले प्रहरी संगठनलाई प्रविधि मैत्री बनाई अपराध नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो । बागमती प्रदेश प्रहरी प्रमुख विष्णुबहादुर केसीले प्रहरी संगठनको भौतिक संरचनालाई बलियो बनाउनुपर्ने बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्