कांग्रेस एक हप्ताभित्र प्रदेश सरकारमा सहभागी हुन्छः नेता डा कोइराला
मोरङ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोशी प्रदेश सरकारमा नेपाली कांग्रेस आगामी एक हप्ताभित्र सहभागी हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकार विस्तार सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको जानकारी दिनुभयो ।
नेता कोइरलाले भन्नुभयो, “हाम्रा कारणले प्रदेश सरकार विस्तार हुन नसकेको आरोप गलत हो ।” उहाँले विगत एक वर्षदेखि आफूले एमाले र कांग्रेसबीच गठबन्धन हुनुपर्छ भनेका यो सरकारलाई भत्काउने कार्य आफूबाट कुनै हालतमा नहुने बताउनुभयो ।
नेता कोइरालाले राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन आवश्यक भएको विचार राख्नुभयो । उहाँले संविधानमा लेखिएअनुसार समावेशी समानुपातिक कायम राखी संविधानमा सुधार गरी निर्वाचन प्रणाली संशोधन गरी बहुमतको सरकार निर्माण हुनेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
फरक प्रसङ्गमा उहाँले आगामी १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार आफू हुने जानकारी दिँदै तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने धारणा राख्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्