प्रधानमन्त्री ओलीसंग अमेरिकाका उप–विदेशमन्त्री रिचार्डको भेट
काठमाडौंं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप—विदेशमन्त्री रिचार्ड आर बर्माले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको विकासका विविध क्षेत्रमा सहयोगको अपेक्षा गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नती हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको पनि जानकारी गराउनुभयो ।
सो क्रममा उपमन्त्री बर्माले दुई देशबीचको ७७ वर्षदेखिको सम्बन्धको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाको लागि खुसीको विषय भएको बताउनुभयो । उहाँले नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकामा बधाई दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्