परराष्ट्रमन्त्री डा राणाको भारत भ्रमण स्वीकृत

काठमाडौँ- परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवाले भारतको भ्रमण गर्नुहुने भएको छ ।

हिजो बसेको बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको नेतृत्वको प्रतिनिधिमण्डललाई आगामी भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एशियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको ९औँ वार्षिक बैठकमा सहभागी हुन स्वीकृति पनि प्रदान गरेको छ ।

यस्तै आगामी भदौ ५ देखि ९ गतेसम्म भारतमा आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय ‘धर्मा धर्मा कन्फरेन्स’मा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति दिइएको छ ।

त्यसैगरी, बैठकले आगामी असोज ५ देखि १४ गतेसम्म बेलायतमा हुने लोकसेवा आयोगको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रममा सहभागी हुन लोकसेवा आयोगका पदाधिकारीहरूलाई भ्रमण स्वीकृति दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७९/८० र आव २०८०/८१ मा लगातार दुई वर्षसम्म वार्षिक एक सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेर इजाजतपत्र प्राप्त नविकरण हुन नसकेका म्यानपावर संस्थाको इजाजत चालु आवका लागि नवीकरण गर्न बाधा अड्काउ फुकाउने निर्णय पनि गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

बैठकले विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय बिकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्ने सम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्ताबेजलाई अन्तिम रूप दिन अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको पनि मन्त्री गुरुङले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.