अफ्रिकामा जनवरीदेखी १८ हजार भन्दा बढीमा एमपक्स सङ्क्रमण पुष्टि

काठमाडौँ– एकै हप्तामा १ हजार २०० जनामा एमपक्स सङ्क्रमण प्रमाणित भएसँगै सन् २०२४ को जनवरीदेखी अफ्रिकामा कुल १८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण फेला परेको अफ्रिकी युनियन स्वास्थ्य एजेन्सीले शनिबार जनाएको छ ।

स्वास्थ्य विभागको तथ्याङ्कअनुसार भाइरसको तीनवटा भेरियन्ट छन् जसमध्ये एउटा अधिक घातक , अधिक सङ्क्रमक ‘क्लेड –१ बी’ हो । पछिल्लो समय बढिरहेको एमपक्स सङ्क्रमणलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधबार अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

हालसम्म १२ अफ्रिकी सदस्य राष्ट्रहरूबाट तीन हजार १०१ घटनाहरु पुष्टि हुनुका साथै सङ्क्रमण कारण ५ सय ४१ जनाको मृत्यु भएको रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्र (सीडीसी) ले विज्ञप्तिमार्फत जनाएको छ ।

सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देश कङ्गोमा सन् २०२३ सेप्टेम्बरमा पहिलो पटक भाइरसको नयाँ ‘क्लेड–१ बी’ भेरियन्ट पत्ता लागेको थियो जहाँ १ हप्तामा एक हजार पाँच जनामा सङ्क्रमण पुष्टि भएकोमा २४ जनाको मृत्यु भएको थियो ।

लगभग दश करोड मानिस बसोबास गर्ने डीआरसीका सबै प्रान्तमा सङ्क्रमणका घटनाहरू दर्ता भएका छन् ।

यसै गरी छिमेकी बुरुन्डीमा एमपक्सको १७३ केश रिपोर्ट गरिएको छ ।

अफ्रिका बाहिर स्विडेन र पाकिस्तानमा पनि यस हप्ता एमपक्स सङ्क्रमण फेला परेको छ ।

यसै सन्दर्भमा डब्ल्यूएचओको आपतकालीन समितिले सम्बन्धित निकायसँग खोप उत्पादन बढाउन आह्वान गरेको छ ।

एमपक्स एउटा भाइरल रोग हो जुन जनावरबाट मानिसमा फैलिन सक्छ, भने शारीरिक सम्पर्कको माध्यमबाट मानिसमा फैलिन सक्छ । यसका लक्षणहरूमा ज्वरो, मांसपेशी दुख्ने र छालामा ठुला फोका जस्ता घाउहरू आउने हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.