एक लाख राशीको म्याग्दी चिनाउन फोटो प्रतियोगिता हुने
म्याग्दी – म्याग्दीका पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रवर्द्धन गर्ने उद्देश्यले एक लाख धनराशीको फाटो प्रतियोगिता हुने भएको छ । मोना अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ १५ गतेदेखि असोज १५ गतेसम्म डिस्कभर म्याग्दी खुल्ला फोटो प्रतियोगिताको आयोजना गरिएको हो ।
फोटोग्राफी मार्फत म्याग्दी जिल्लालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमश १ लाख,५० हजार र २५ हजार पुरस्कार पाउनेछन् । ‘पर्यटन प्रर्बधनमा कोशेढुंगा सावित हुनेछ,देशभरबाट म्याग्दी जिल्लामा घुम्न आएका फोटोग्राफरलाई प्रतिस्पर्धा गर्न अनुरोध गछौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
प्रतियोगितामा म्याग्दी जिल्लाभित्रका फोटो भदौ १ गतेदेखि १४ गतेसम्म ५ सय शब्द उल्लेख गरी पठाइसक्नुपर्ने,म्याग्दी जिल्लाको पहिचान झल्कने कुनैपनि तस्वीरहरु प्रतियोगितामा सहभागिता जनाउन पाउने लगायतका नियमहरू रहेको संयोजक बाबुराम पौडेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता आगामी असोज महिनाको १९ गते घोषणा गरिने छ । यस प्रतियोगिताले फोटोग्राफरलाई प्रोत्साहन तथा क्षमता उजागरसँगै पर्यटन प्रर्बधनमा नयाँ उचाई कायम गर्ने विश्वास लिईएको छ । गतबर्ष मोना अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी तथा उत्कृष्ट विजेता अन्नपुर्ण गाउँपालिका–५ शिखका गणेश गुरुङ (सुरेन) सहितलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्