भक्तपुरमा गाईजात्राकाे राैनक
भक्तपुर – परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ भक्तपुरमा सुरू भएकाे छ ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्नो क्षेत्रहुँदै नगरपरिक्रमा गराउने गरिन्छ ।उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही खुवाउने चलन छ । यसो गरे वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेकाे सँस्कृतिविद प्रा.डा पुरूषाेत्तमलोचन श्रेष्ठ बताउँनुहुन्छ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरमा मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको इतिहास पाइन्छ । यति गर्दा पनि रानी शोकबाट मुक्त नभएपछि विभिन्न प्रकारका व्यंग्यात्मक कार्यक्रम समेत गराउन आदेश दिएपछि हास्यव्यंग्यको चलन शुरू भएको मानिन्छ । प्रताप मल्लको पालादेखि चलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै रहेको छ ।
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा भक्तपुरबासीले अहिले विभिन्न व्यङ्ग्यात्मक प्रहसन, सामाजिक विकृतिप्रतिकाे राजनैतिक व्यङ्ग्य, नाचगान तथा मृत व्यक्तिको सम्झनामा गीतहरू गाएर पर्वमा सहभागि भएका छन् ।
हिजाे साँझ तलेजु मन्दिरबाट गाई निकालेर प्रदर्शन गरिएसंगै सुरुभएको यसवर्षको गाईजात्रा पर्व आज विशेष दिनका रुपमा लिइने चलन छ ।
तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले पठाएको सरकारी घिन्ताङ घिसी नाच निकालेर भक्तपुर परिक्रमा गरेपछि जात्रा सुरु भएको गुठी कार्यालय भक्तपुरका प्रमुख खिमा ओलीले बताउँनु भयो ।
दिवङ्गत व्यक्तिको सम्झनामा नेवार समुदायको घरघरबाट अहिले गाईजात्रा निकालिरहेका छन् । नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहेकाे छ ।
प्रतिक्रिया राख्नुहोस्