अल्लोको उत्पादन बिक्रीबाट आम्दानी गर्दै महिला उद्यमी

म्याग्दी– चुलोचौकोमा मात्रै सीमित भएर दिन बिताउने महिलाहरू हिजोआज व्यावसायिक उत्पादनतर्फ लागेका छन् । बिहान र बेलुका चुलोचौकोको काम सकेर पनि उनीहरु विभिन्न किसिमका पेशा तथा व्यवसायमा संलग्न भई आर्थिक उपार्जनमा सक्रिय भएका हुन् ।

हिमाली जिल्ला म्याग्दीका महिलाहरू पछिल्लो समय व्यावसायिक रुपमा अल्लो र ढाका उत्पादन, तरकारी खेती, कुखुरापालन, अर्गानिक पसल सञ्चालन लगायत पेशा, व्यवसायमा संलग्न छन् । यसैमध्ये अल्लोको उत्पादनमा म्याग्दीका महिलाहरू लागिपरेका छन् ।

गाउँघर तथा पाखो ठाउँमा उम्रिएर त्यत्तिकै खेरजाने गाउँले भाषामा (चाल्ने सिस्नो) भनेर चिनिने अर्थात् अल्लोको पुवाबाट महिलाहरूले विभिन्न उत्पादनहरू गरिरहेका छन् ।

जिल्लाको बेनी नगरपालिका, ज्यामरुक कोटस्थित हाँडेभीर नजिकै महिला उद्यमीलाई लक्षित गरेर साझा सुविधा केन्द्र (सिएफसी) को भवन बनाइएको छ । अहिले त्यसै भवनभित्र अल्लो उद्यमी विष्णु गुरुङको नेतृत्वमा महिलाहरूले अल्लो पुवाबाट कपडा तयार गरिरहेका छन् ।

हिमाली अल्लो कपडा उद्योग समूह दर्ता गरी उनीहरु त्यसै उद्योगमार्फत नियमित रुपमा अल्लो पुवाको उत्पादनमा लागेको बताउँछन् । साझा सुविधा केन्द्रको भवनभित्र मेसिनको सहायतामा तान लगाएर अल्लोको कपडा तयार गर्ने गरिन्छ ।

विगतको समयमा अल्लो कपडा उत्पादन गर्ने कच्चापदार्थ जिल्लाको ओखरबोट, गुर्जा, लुलाङ, रुम र निस्कोटबाट ल्याएर कपडा बनाए पनि अहिले भने कुइनेमङ्गलेबाट अल्लो पुवाको कच्चापदार्थ आयात गर्ने गरिएको महिला उद्यमी बताउँछन् ।

पछिल्लोपटक कुइनेमङ्गलेबाट खच्चडमार्फत अल्लोको कच्चापदार्थ मगाएर त्यसलाई प्रशोधनपछि धागो बनाई अल्लो कपडा उत्पादन भैरहेको छ । कुइनेमङ्गले पुगेर त्यहाँका स्थानीय महिलाहरूलाई अल्लो पुवाको बारेमा जानकारीसहित तालिम दिएर १० जनाको समूह गठन गरेपछि अहिले उनीहरूले अल्लो पुवा सङ्कलन गरेर पठाइरहेको हिमाली अल्लो कपडा उद्योग समूहका अध्यक्ष विष्णु गुरुङले बताउनुभयो ।

विभिन्न ७ जना महिला उद्यमीहरू आबद्ध यस अल्लो कपडा उद्योग समूह मार्फत साझा सुविधा केन्द्रको भवनमा अल्लो पुवाको सहयोगमा कपडा उत्पादनलाई निरन्तरता दिइएको छ । सामुदायिक वन क्षेत्रमा अल्लो पुवा सङ्कलन गर्नका लागि समूह मार्फत डिभिजन वन कार्यालयबाट अनुमति लिई केजीका हिसाबले शुल्क तिरेर अल्लो पुवा सङ्कलन गर्ने गरिएको छ ।

कुइनेमङ्गलेको समूहले अल्लो पुवा सङ्कलन गरी त्यसबाट धागो निकालेर सदरमुकाम बेनीमा पठाउने गरेको महिला उद्यमी समेत रहनुभएकी उद्योगका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

महिला उद्यमीहरूलाई लक्षित गरेर निर्माण गरिएको सिएफसीको भवनमा अहिले चारजना महिलाहरूले दैनिकजसो अल्लो धागोबाट कपडा उत्पादन गरिरहेका छन् । एक महिनाको अवधिमा २०० मिटर अल्लोको कपडा उत्पादन गरी यस केन्द्रमा महिला उद्यमीबाट वार्षिक रुपमा २४ सय मिटर अल्लोको थान कपडा उत्पादन गर्ने गरिएको महिला उद्यमी गुरुङले बताउनुभयो ।

यसरी महिला उद्यमीहरुले तानमा तयार गरेको अल्लोको थान कपडा खरिद गर्नका लागि भने ग्राहकहरु भने सिएफसीको भवनमै पुग्ने गर्दछन् । अल्लोको धागोबाट उत्पादित थान कपडालाई प्रति मिटर छ सय रुपैयाँको दरले बिक्री गर्ने गरिएको छ । यसबाट कोट, स्टकोट, टोपी, झोला, जुत्ता, चप्पल, सललगायत दैनिक उपभोग्य सामग्रीहरु बनाउने गरिन्छ ।

अल्लोको कपडा स्वाथ्यबद्र्धक हुने भएकाले पनि बजारमा यसको माग उच्च रहेको छ । पछिल्लोपटक स्वदेशका साथै विदेश जाने नेपाली तथा नेपाल घुम्न आएका विदेशी पर्यटकहरुले समेत अल्लो कपडा खरिद गर्ने गरेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.